- सुवास गोतामे
काठमाडौं : ‘आज चेकिङ यता होइन, उता’, पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनीमा गोरखाबाट काठमाडौं चल्ने माइक्रोबसका चालकलाई चेकिङमा बसेका ट्राफिक प्रहरीले इसारा गर्दै भने। चालक गाडीबाट ओर्लेर २५ मिटर पर पुगेपछि दुई सय रुपैयाँ बुझाएर गाडीमै फर्किए। चेकिङका नाममा पैसा असुलेपछि सुरक्षाकर्मीले गाडीमा कुनै जाँच गरेनन्।
१९ जना यात्रु बोकेर आएको उक्त माइक्रोबसका यात्रुले सोधे, ‘सुरक्षाकर्मी त यहीं छन्, किन उता चेकिङ गरेको?’ चालक राजु थापाको जबाफ थियो, ‘चाडबाड लाग्यो हजूर, अब पैसा नबुझाए गाडी चलाउनै मुस्किल पर्छ। दुई सय रुपैयाँ गोजीमा हालिदिएँ, चुप लागे।’
आबुँखैरेनीमा बिहीबार अपराह्न साढे तीन बजे देखिएको यो एउटा प्रतिनिधि घटना मात्रै हो। प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको ‘भ्रष्टाचार शून्य सहनशीलता’ को नारा भाषणमा मात्रै सीमित रहेको तथ्य यसले पुष्टि गर्छ। चालक राजु थापाका अनुसार उनी मात्रै होइन, सयौं गाडीबाट ट्राफिक प्रहरी र प्रहरीले यसैगरी बस, माइक्रोबस र मालबाहक गाडीबाट पैसा उठाइरहेका छन्।
‘विरोध गरौं, एक्लो परिन्छ। बरु एकदुई सय रुपैयाँ दियो, टन्टै साफ’, थापाले भने।
कलंकी भएर उपत्यका बाहिरिएका दुई दर्जनभन्दा बढी भाडाका गाडीचालकसँग शुक्रबार बिहान अन्नपूर्णकर्मीले ट्राफिक प्रहरी र प्रहरीले पैसा असुली गरेको सम्बन्धमा प्रश्न गर्दा उनीहरूले गाडी गुड्नका लागि तेल हालेजस्तै सडकमा गाडी गुडाउन ट्राफिक प्रहरीलाई पैसा नदिई सुखै नपाइने तीतो अनुभव पोखे।
कलंकी-वीरगन्ज-कलंकी सामान ओसार्ने एलपी ट्रकका चालक राजेश गुरुङले पनि नागढुंगा चेकिङमा आफूले प्रहरीलाई पैसा बुझाउने गरेको बताए। १० वर्षदेखि राजमार्गमै ट्रक हाँक्दै आएका गुरुङ भन्छन्, ‘तेरो भत्ता कति हुन्छ, कहिलेकहीं हामीलाई पनि बाँड्ने गर्। नत्र गाडी थन्क्याइदिन्छु भन्दै हाकाहाकी पैसा माग्छन्। नदिऊँ गाडी राखिदेलान्, दिऊँ गोजी रित्तिने।’ उनले आफ्ना साथीहरूले पनि प्रहरीलाई पैसा दिने गरेको बताए। उनले थपे, ‘म मात्रै होइन, यही रुटमा चल्ने २० वटाभन्दा बढी ट्रकका चालक मेरा साथी छन्। उनीहरूसँग पनि पैसा मागेर हैरान पार्ने गरेका छन्।’
चेकिङका नाममा सुरक्षाकर्मी यसरी रकम असुलीमा लागेपछि राजमार्गमा गाडी हाँक्ने चालकहरूले हैरानी खेप्नु परेको छ। त्यसो त यातायात व्यवसायीका कार्यालयमा पनि दैनिक सयभन्दा बढी गुनासा आउने गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा मात्रै राजमार्गमा सुरक्षा जाँचका नाममा पैसा असुली गरेका सयभन्दा बढी गुनासो आउने गरेको महासंघका प्रवक्ता डोलनाथ खनालले बताए।
‘चालकलाई मात्रै कानुन लाग्ने, ट्राफिक प्रहरीलाई नलाग्ने? मनपरी चेकिङ राख्यो, जरिबानाका नाममा रसिद नकाटी पैसा असुल्यो। ट्राफिक र प्रहरी नियम पालना गराउने भन्दा पैसा असुलीमै बढी केन्द्रित रहेको हामीले पाएका छौं’, उनले भने।
उनले चालकले गल्ती गरे कारबाही गर्नुपर्ने पनि बताए। राजमार्गमा पैसा असुलीका सम्बन्धमा प्रहरीको माथिल्लो तहसम्म गुनासो राख्दा पनि समस्या ज्युँका त्युँ रहेको उनले बताए। नागढुंगा, मलेखु, आँबुखैरेनी, मुग्लिन, नारायणघाटलगायत स्थानमा जथाभाबी चेकिङ राखेर ट्राफिक प्रहरीले पैसा असुल्दै आएको महासंघले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी नवराज सिलवालले राजमार्गमा चेकिङका नाममा ट्राफिक प्रहरीले चालकबाट पैसा उठाएको जानकारी आफूलाई नभएको बताए। उनले भने, ‘ट्राफिक तथा प्रहरी व्यावसायिकताप्रति प्रतिबद्ध छन्। त्यसरी पैसा उठाएको पाइएमा छानबिन गरेर कारबाही गर्छु।’
उनले राजमार्गमा छुट्टै अनुगमन टोली रहेको जानकारी दिँदै टोलीलाई थप सक्रियता साथ काम गर्न निर्देशन दिने बताए।
No comments:
Post a Comment