• सुवास गोतामे
काठमाडौं: तपाईं फेसबुकमा अपलोड भएका विभिन्न फोटो, स्केच तथा अन्य सामग्रीमा फटाफट लाइक वा सेयर गर्ने गर्नुहुन्छ? त्यस्तो बानी छ भने अब ख्याल गर्नुहोला नत्र एक लाइक वा सेयरले तपाईं नसोचेको लफडामा पर्न सक्नुहुन्छ। फेसबुकले तपाईंलाई प्रहरी खोरसम्म पुर्‍याउन सक्छ। साइबर अपराधमा फेसबुकको लाइक तथा सेयरलाई पनि कसुर मानेर प्रहरीले अनुसन्धान तथा कारबाही गर्न थालेको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गरेबापत पाँच वर्ष कैद सजाय वा एक लाख जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।


डेढसाताअघि मात्रै काभ्रेका भवनाथ सापकोटा आफ्नो फेसबुकको पर्दामा नेकपा-माओवादीकी नेत्री पम्फा भुसाललाई लक्षित गरेर लेखिएको अपशब्दलाई सेयर गरेकै कारण पक्राउ परे। राजधानीको सरस्वती क्याम्पसमा आईएमा पढ्दै गरेका सापकोटालाई थाहा थिएन, सेयर गरेको भरमा पक्राउमा परिन्छ भनेर। विष्णु गुरुङका नाममा एक व्यक्तिले भुसालका बारेमा आफ्नो फेसबुक पर्दामा आपत्तिजनक स्टाटस लेखेका थिए।

महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा विष्णु गुरुङ नामको फेसबुक आईडी नक्कली रहेको पायो। महाशाखा यो कसले बनाएको भन्नेतर्फ थप अनुसन्धानमा जुटिरहेको छ। सापकोटा भने अहिले प्रहरी हिरासतमा छन्। यो प्रतिनिधि घटना मात्रै हो।

महाशाखा प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विजयलाल कायस्थले सामाजिक सञ्जालमा अश्लील फोटो, टेक्स्ट वा कुनै साइट सेयर वा लाइक गरे मात्रै प्रयोगकर्ता साइबर अपराधमा सजायको भागिदार हुनुपर्ने बताए। ‘फेसबुकमा लाइक गरेको प्रमाण सुरक्षित रहने हुँदा कारबाही गर्न सजिलो हुन्छ’, उनले भने, ‘धेरैलाई ख्यालख्यालमै फेसबुकले फन्दामा पारेको छ।’

पछिल्लो समयमा फेसबुक जस्ता सामाजिक सञ्जालको दुरुपयोग गर्दै गरिएका अनैतिक तथा आपत्तिजनक शब्द र दृश्यलाई साइबर अपराधसँग जोडेर प्रहरीकहाँ उजुरी दिने क्रम बढेको छ। युवकयुवतीबीच प्रेम बिफल भएपछि फेसबुकमा जथभाबी म्यासेज पठाउनेदेखि लिएर नग्न फोटोसमेत अपलोड गरिदिनेजस्ता उजुरी महाशाखामा परेका छन्।

काठमाडौं उपत्यकामा पछिल्ला तीन आर्थिक वर्षमा साइबर अपराधको तथ्यांक ह्वात्तै बढेको छ। अपराध महाशाखामा दर्ता भएका उजुरीको तथ्यांक मात्रै हेर्दा पनि साइबर अपराधका घटना बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०६७/०६८ मा आठवटा मात्रै उजुरी दर्ता भएकोमा २०६८/०६९ मा बढेर ३३ वटा पुगे। आर्थिक वर्ष २०६९/०७० को असार १५ सम्म ८३ वटा उजुरी दर्ता भएका छन्।

महाशाखाको आईटी शाखाले सामाजिक सञ्जाल (फेसबुक, ट्विटर), ईमेल थ्रेट, इलिगल डाटा एक्सेस, एटीएम फ्रड, इमेल तथा वेबसाइट ह्याकिङ, अश्लील वेबसाइट, वेबसाइट डिस्पुट, वेब एसएमएस थ्रेट, एसएमएस लटरी फ्रड, फिसिङजस्ता साइबर अपराध अनुसन्धान गरिरहेको छ।