Sunday, August 11, 2013

दिनेश अधिकारीमाथि गोली प्रहार

  • सुवास गोतामे



काठमाडौं : चरी उपनामले चिनिने दिनेश अधिकारीमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी सामान्य घाइते भएका छन्। विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पटकपटक पक्राउ परेका चरी एमाले धादिङ १ का उपाध्यक्ष हुन्। धादिङमा आयोजित प्रेस चौतारीको कार्यक्रममा सहभागी भई राजधानी फर्कने क्रममा काठमाडौंको सतुंगलमा शुक्रबार राति साढे नौ बजेतिर उनीमाथि अज्ञात समूहले गोली चलाएको थियो। गोलीले चरीको दाहिने पाखुरा छेडेको छ। चरी आफैं गाडी चलाएर केही सहयोगीसाथ काठमाडौं फर्कंदै थिए। रड, भाला र पेस्तोलसहित आएको समूहले गाडी रोकेर उनीमाथि आक्रमण गरेको थियो। प्रहरीले घटनास्थलबाट नाइन एमएमको गोलीको खोका बरामद गरेको छ।

एमाले नेता केपी शर्मा ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा चरी केही सहयोगीका साथ पुगेका थिए। उनको समूह शुक्रबार बिहान ओलीको गाडी स्कर्टिङ गर्दै धादिङ पुगेको थियो।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका चरीले आफ्ना शुभचिन्तकसँग भने, ‘मलाई गोली लागेर सामान्य चोट लागेको छ। मेरोबारे केही चिन्ता लिनु पर्दैन। बाहिर आएपछि सब ठीक हुन्छ।’
चरीलाई भेट्न एमाले युथ फोर्सका अध्यक्ष महेश बस्नेत, अनेरास्ववियुका महासचिव किशोर मल्ललगायत अस्पताल पुगेका थिए। साजन महर्जनलगायतका डन र विवादमा आइरहने फिल्म निर्माता रोज राणा पनि उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।

काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी ) सुबोध घिमिरेले आपराधिक गतिविधिमा संलग्न समूहकै आन्तरिक द्वन्द्वका कारण चरीमाथि आक्रमण भएको आशंका गरे। गोली प्रहार गर्ने एकजना पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको छ।

चरीले आफूमाथि बाफलका समीर बस्नेत र धादिङका राधे भण्डारीको समूहले नियोजित ढंगले आक्रमण गरेको आरोप लगाए। उनका अनुसार केही महिनाअघि धादिङमा भण्डारीका भाइलाई आफ्नो समूहका केही सदस्यले आक्रमण गरेकाले अहिले बदला लिएको हो।

‘सतुंगल पुलनजिक मेरो गाडीलाई बाइकले छेकेर अन्धाधुन्ध आक्रमण हुन थाल्यो’, चरीले भने। उनले प्रतिकार गर्न खोज्दा गाडीको ठक्करबाट घाइते भएका स्वयम्भूका राजेन्द्र लामा पक्राउ परेका छन्। बाँया खुट्टा भाँचिएका लामालाई यती अस्पताल बाफलमा उपचार गराएर पाटन अस्पतालमा लगिएको छ।
चरीमाथि लुटपाट, ठेक्कापट्टा हडप्ने, चन्दा असुली, गुन्डागर्दी र क्यासिनोमा अवैध लगानी गरेको आरोप छ। राजधानीका नयाँबजार, नैकाप र ठमेललाई कार्यथलो बनाएर अवैध क्रियाकलापमा संलग्न उनी पटकपटक अपराधमा मुछिएका व्यक्ति हुन्।

उनी २०६८ वैशाख १३ गते धादिङबाट काठमाडौं फर्कने क्रममा थानकोटमा गाडीभित्र तरबारसहित पक्राउ परेका थिए। यस्तै २०६८ असार २४ गते चितवन राष्ट्रिय निकुञ्जको पत्रका आधारमा गैंडाको खाग तस्करीको अरोपमा पक्राउ परेका चरी एमाले शीर्ष नेताको दबाबमा छुटेका थिए। उनले महानगरीय प्रहरी परिसर हनुमानढोकाका तत्कालीन प्रमुख एसपी रमेश खरेलको कार्यकालमा गुन्डागर्दीको आरोप स्वीकार्दै महानगरीय प्रहरी आयुक्त कार्यालयमा आत्मसमर्पण गरेका थिए।

No comments: