काठमाडौं: विवाहपछि हरेक दम्पतीको सन्तान जन्माउने सपना हुन्छ। तर सपना पौडेललाई भने त्यही सपनाले ज्यान लियो। गर्भधारण गरेकै निहुँमा सपनाको हत्या भयो, त्यो पनि पतिबाटै।

उदयपुर बेल्टारका अमरसिंह कार्कीले २० वर्षीया श्रीमती सपनालाई गर्भकै निहुँमा हत्या गरे। गत जेठ ३ गते पत्नीको हत्या गरी शव फालेर उनी फरार भएका थिए। प्रहरीले कार्कीलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो।
राजधानी नरदेवीका वीरबहादुर खड्काको होटेलमा काम गर्ने अमर र डान्स रेस्टुरेन्टमा काम गर्ने चितवन माडी ९ की सपना गत चैतदेखि पतिपत्‍नीका रूपमा डेरामा बस्दै आएका थिए। सपनाको हत्या हुनु सात दिनअघि मात्रै यो जोडीले औपचारिक विवाह गरेको थियो। पतीपत्‍नीबीच गर्भकै निहुँमा बारम्बार झगडा हुँदै आएको थियो।

डेढ महिनासम्म दिदीकी छोरी नदेखेपछि अञ्जना महर्जनले प्रहरीलाई खबर गरेकी थिइन्। अञ्‍जनाको उजुरीका आधारमा सपनाको खोजीमा प्रहरी जुटेको थियो। प्रहरीसँगको बयानमा अमरले सपनाको हत्या स्वीकार गरेका छन्। सपना अल्काई रोगीसमेत भएकाले गर्भ रहेपछि घरपरिवारले स्वीकार नगर्ने निहुँमा हत्या गरेको बयान अमरले दिएका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार हत्यापछि अमर नागरिकता बनाउने निहुँमा होटेलबाट बिदा लिएर उदयपुर गएका थिए। उनले प्रहरीले पक्राउ गर्ने डरले पुरानो सिमकार्ड फालेर नयाँ सिमकार्ड चलाउँदै आएका थिए। महाशाखाका डीएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार उदयपुरमा अमरलाई साथी आयुषा दाहालले सपनाका बारेमा सोधेकी थिइन्। अमरले ‘कसैलाई नभन्ने’ सर्तमा सपनालाई मारेर फालिदिएको बताएका थिए। दाहालले काठमाडौंकी साथी मुना ठकुरीलाई सपनाको हत्या भएको खबर सुनाइन्। त्यसपछि महर्जनले यसबारे प्रहरीलाई जानकारी गराएकी थिइन्।

महाशाखाले उदयपुर प्रहरीसँग समन्वय गरी अमरलाई शनिबार बिहान कार्की पक्राउ परेको थियो। महाशाखाको प्रहरी टोलीले आइतबार बिहान उनलाई उदयपुरबाट काठमाडौं ल्याएको हो। अमरले शव फालेको स्थान आफैंले प्रहरीलाई देखाएका थिए।

सपनाको हत्यापछि शव तन्ना, बोरा र त्रिपालमा पोको पारी नरदेवी जङ्कोमा गल्लीस्थित शान्ति स्थापितको घरपछाडि शौचालयनजिकै फालेर भागेका थिए। स्थापितको घरसँगै अन्य तीनवटा घर र मानिस ओहोरदोहोर गर्ने गल्ली रहे पनि शव फालेको सम्बन्धमा कोही जानकार थिएनन्। ‘कसैले शंका नगरून् भन्ने हेतुले उनी शौचालयनजिकै शव फालेर भागेका रहेछन्’, डीएसपी चतुर्वेदीले भने। प्रहरीले सपनाको शव चिन्न नसकिने अवस्थामा फेलापारेको थियो। महाशाखाले सपनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ।