- सुवास गोतामे
काठमाडौं : चीनको खासाबाट काठमाडौं हुँदै भारततर्फ तस्करी
गर्न लागिएको ३५ किलो सुन बुधबार कोटेश्वरबाट बरामद गरिएको छ। बा३ख २५७०
नम्बरको टाटा कन्टेनरमा फ ल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा प्रहरीले
उक्त सुन बरामद गरेको हो। बरामद सुनको बजार मूल्य १७ करोड रुपैयाँभन्दा बढी
पर्छ।खासाबाट काठमाडौं हुँदै भारततर्फ सुन तस्करी हुन लागेको सुराकी पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले तातोपानी नाका र कोटेश्वरलाई केन्द्रबिन्दु बनाएर दुईवटा प्रहरी टोली परिचालन गरेको थियो। प्रहरीले कन्टेनरका चालक निमाछिरिङ तामाङलाई त्यहींबाट पक्राउ गरेको थियो। तामाङको साथबाट १६ हजार सात सय रुपैयाँ र एक सय अमेरिकी डलर बरामद भएको छ।
प्रहरीले तामाङको बयानका आधारमा सुन तस्करीमा संलग्न बौद्धका गाम्जो लामालाई बौद्धबाट, टुसालका नाम्गेल भनिने ओमबहादुर बज्राचार्यलाई माइतीघर मण्डलाबाट र सुनसरी धरानका मोहनकुमार अग्रवाललाई कालिकास्थानबाट अपराह्न पक्राउ गरेको छ। लामा र अग्रवाल सुनधनी रहेको ब्युरोले जनाएको छ। ब्युरोका अनुसार अग्रवाल देखावटी रूपमा काठमाडौंमा कपडा व्यापार गर्छन्।
कन्टेरधनी बज्राचार्य पनि सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको ब्युरोका प्रमुख डीआईजी प्रकाश अर्यालले बताए। उनका अनुसार नेपाल प्रहरीले एउटै अप्रेसनमा यति ठूलो परिमाणमा सुन बरामद गरेको यो पहिलोपटक हो। ‘नेपाल प्रहरीले यसअघि योभन्दा ठूलो परिमाणमा सुन बरामद गरेको मलाई थाहा छैन’, उनले भने।
स्रोतका अनुसार खासाबाट दैनिक ५० किलो सुन काठमाडौं हुँदै भारततर्फ जान्छ र यसरी ल्याइएको सुनको कारोबार काठमाडौंमा हुन्छ। प्रहरी भने सुराकीबिना यस्ता गिरोहको नजिक पुग्न सकेको छैन। ‘सुराकीबिना तस्करलाई पक्राउ गर्न सम्भव छैन, तैपनि प्रहरी निगरानी रहिरहन्छ’, अर्यालले भने।
खासाबाट कसले सुन पठायो भन्ने सम्बन्धमा थप अनुसन्धान हुने जानकारी गराउँदै अर्यालले भने, ‘सुनधनी र तस्करका लागि प्रयोग गरिएको कन्टेनरका मालिक पक्राउ परिसकेकाले खासाबाट काठमाडौं ट्रान्जिट बनाएर भारततर्फ तस्करी गर्ने एउटा संगठित जालो तोडिएको छ।’
सात महिना अवधिमा तीनपटक विभिन्न परिमाणमा सुन बरामद गर्न प्रहरी सफल भएको छ। यसअघि गत जेठ २ गते महानगरीय प्रहरीले गाम्पो भोटियालगायत पाँचजनालाई १६ किलो सुनसहित बौद्धबाट पक्राउ गरेको थियो। उक्त सुन पनि खासाबाटै ल्याइएको थियो। त्यस्तै पुस २५ गते पाँच किलो सुनसहित महाबौद्धबाट दुईजनालाई पक्राउ गरिएको थियो।
तस्करी किन हुन्छ ?
नेपाल राष्ट्रबैंकले बजार अनुगमन नगरी थोरै मात्रामा सुन बिक्रीका लागि विभिन्न वाणिज्य बैंकलाई अधिकार दिएपछि माग र आपूर्ति सन्तुलन नमिल्दा सुन तस्करी हुने गरेको प्रहरी विश्लेषण छ। हाल बिहेको लगन भएकाले दैनिक ४० देखि ५० किलो सुन बजारमा खपत हुँदै आएको व्यवसायीले बताएका छन्। राष्ट्रबैंकले स्वीकृति प्राप्त वाणिज्य बैंकमार्फत दैनिक २० किलो सुन बिक्री गर्न व्यवसायीलाई छुट दिएको छ।
‘व्यापारी-व्यापारीबीच मुनाफाको कुरा हुन्छ तर बैंकहरूले २० किलोभन्दा बढी सुन बिक्री गर्ने अधिकार पाएका छैनन्, मुनाफा आर्जन गर्नकै लागि व्यवसायीले गलत बाटो अपनाउने गरेका छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘राष्ट्रबैंकले पनि बजार अनुगमन गर्नुपर्यो, सुनको खपत कति छ, त्यसका आधारमा आपूर्ति बढाउँदै लैजानुपर्यो। तबमात्रै तस्करीलगायत अवैध कारोबार नियन्त्रणमा ल्याउन सकिन्छ।’
No comments:
Post a Comment