सुवास गोतामे
काठमाडौं : जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मतदाता नामावली संकलन गरिएको एउटा ल्यापटप गायब भएको छ। मतदाता नामावली संकलनको अन्तिम दिन असार मसान्तमा कडा सुरक्षाघेराबीच निर्वाचन कार्यालयभित्रैबाट ल्यापटप गायब भएको हो।
उक्त ल्यापटपमा करिब डेढ सय मतदाताको अभिलेख थियो। ल्यापटपमा मात्रै सुरक्षित गरिएको ती मतदाताको अभिलेख अन्यत्र नरहेकाले मतदाता नामावली अद्यावधिक गर्न समस्या भएको छ।
जिल्ला निर्वाचन कार्यालयले ल्यापटप गायब भएको एक सातासम्म पनि यसबारे कुनै सूचना पाउन सकेको छैन। यो घटनाले राजधानीमा रहेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयको सुरक्षासंयन्त्र कमजोर रहेको उजागर गरेको छ।
गत असार ३१ गते जिल्ला प्रशासन कार्यालयलाई मतदाता नामावली संकलन गर्ने केन्द्र बनाइए पनि अपराह्न दुई बजे विद्युत् आपूर्ति बन्द भएपछि निर्वाचन कार्यालयभित्र सारिएको थियो। गायब भएको ल्यापटप त्यस दिन बिहानदेखि अपराह्नसम्म निर्वाचन कार्यालयका कर्मचारी सरला थापाले प्रयोग गरेकी थिइन्। अपराह्न दुई बजेपछि सहकर्मी सत्यराम लम्साललाई ल्यापटप जिम्मा लगाएर उनी बाहिरिएकी थिइन्। स्रोतका अनुसार लम्साल ल्यापटप अरूलाई जिम्मा नलगाई अरू काममा लागेका थिए।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अनुसन्धानका क्रममा सरला र सत्यरामसँग बयान लिएको छ। निर्वाचन कार्यालयले साउन ४ गते मात्रै उक्त घटनाको सूचना प्रहरीलाई दिएर अनुसन्धानका लागि अनुरोध गरेको थियो।
जिल्ला निर्वाचन अधिकारी शम्भुप्रसाद चालिसेले भने, ‘मतदाताको नामावली रहेको ल्यापटप गायब हुनु गम्भीर घटना हो। यसबारे हामी आन्तरिक छानबिन गरिरहेका छौं।’ स्रोतका अनुसार साउन १ गते ल्यापटप नभेटिए पनि ल्यापटपसँगै रहेको दर्ता फाराम भने कार्यालयको पार्किङमा भेटिएको थियो।
मतदाता नामावली संकलनको अन्तिम दिन निर्वाचन कार्यालयअगाडि प्रहरी र सशस्त्र प्रहरीले पहरा दिएका थिए। ल्यापटपसँगै सात घन्टासम्म लाममा बसेर नाम लेखाएका सर्वसाधारणको रेकर्ड पनि हराएको छ।
चालिसेले ल्यापटप हराएका कारण छुटेका मतदाताको नामावली अन्य तरिका अपनाएर अद्यावधिक गरिने बताए। ‘साउन ८ गते देशभरका नगरपालिका र गाविसमार्फत मतदाता नामावलीको अन्तिम तथ्यांक सार्वजनिक गर्नुपर्ने बाध्यता भएकाले हामी त्यसैको तयारीमा लागेका छौं। ल्यापटपको खोजी प्रहरीले गरिरहेको छ’, चालिसेले भने।