सुवास गोतामे
काठमाडौं: चार वर्षयता नेपालमा लागूपदार्थ कारोबार फस्टाउँदै गएको पाइएको छ। लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले बरामद गरेको लागूपदार्थको परिमाण र कारोबारमा संलग्‍न व्यक्तिको पक्राउ घटनाले यसको व्यापार फस्टाउँदै गएको पुष्टि गर्छ।

एनसीबी प्रवक्ता एसएसपी रणबहादुर चन्दका अनुसार सन् २००९ मा नेपालभरिबाट लागूपदार्थ कारोबारमा संलग्‍न स्वदेशी तथा विदेशी गरी नौ सय ३८ जना पक्राउ परेका थिए। त्यतिबेला गाँजा १७ हजार नौ सय ५० किलो, चरेस एक हजार ६ सय ९० किलो, खैरो हेरोइन १८ किलो र अफिम दुई सय २६ किलो बरामद भएको थियो।
सन् २०१० मा लागूपदार्थ बरामद परिमाणमा कमी देखिए पनि यसको कारोबारमा संलग्‍न झन्डै दोब्बर व्यक्ति पक्राउ परेका छन्। उक्त समयमा १४ हजार चार सय ४२ किलो गाँजा, एक हजार दुई सय ७१ किलो चरेस, साढे २२ किलो खैरो हेरोइन र तीन किलो अफिम बरामद भएको थियो। लागूपदार्थ कारोबारमा संलग्‍न एक हजार चार सय ४३ जना पक्राउ परेका थिए। सन् २००९ को तुलनामा यो संख्या पाँच सय पाँच बढी हो।
एसएसपी चन्दका अनुसार सन् २०११ मा देशभरबाट बरामद भएको लागूपदार्थमध्ये गाँजा मात्रै ३७ हजार एक सय ९० किलो छ भने चरेस दुई हजार नौ सय २५ किलो, खैरो हेरोइन १२ किलो र अफिम साढे दुई किलो छ। सन् २०१० को तुलनामा २०११ मा झन्डै तीन गुणा गाँजा र दुई गुणा बढी चरेस बरामद भएको थियो। यी लागूपदार्थ कारोबारमा संलग्‍न स्वदेशी तथा विदेशी गरी दुई हजार एक सय ६३ जना पक्राउ परेका थिए। एनसीबीका अनुसार सन् २०१२ मा पनि २०११ मा भन्दा बढी लागूपदार्थ बरामद भएको छ। यस वर्ष गाँजा ४७ हजार ४७ किलो, चरेस नौ हजार एक सय ७० किलो, खैरो हेरोइन १६ किलो र अफिम साढे ११ किलो बरामद भएको थियो।
युनाइटेड नेसन अफिस अन ड्रग क्राइम (यूएनओडीसी) ले २०१३ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रहरीले विश्वमा कुल लागूपदार्थ कारोबारको १५ देखि २० प्रतिशत मात्रै बरामद गर्छ। नेपालमा पनि यही अवस्था रहेको एनसीबीका अनुसन्धानमा संलग्‍‍न अधिकारी बताउँछन्।
पछिल्ला दुई वर्षमा फर्मास्युटिकल ड्रग्सको कारोबार ह्‍वात्तै बढेको एनसीबीले जनाएको छ। सन् २०११ मा देशभरबाट ३९ हजार ६ स ९५ पिस डाइजेपाम र २७ हजार पाँच सय ३८ थान बुप्रोनर्फिन बरामद भएको छ। सन् २०१२ मा आएर बरामद संख्या दोब्बर बढेको छ। यस वर्ष ७२ हजार चार सय ४४ पिस डाइजेपाम र ५८ हजार चार पिस बुप्रेनर्फिन बरामद भएको छ। बरामद सबै फर्मास्युटिकल ड्रग्स छिमेकी मुलुक भारतबाट भित्रिएको हो।
जानकारहरूका अनुसार नेपालमा बर्सेनि दुई अर्बबराबरको लागूपदार्थ कारोबार हुने गर्छ। ‘बरामद लागूपदार्थको परिमाण हेर्दा प्रहरी सक्रियता देखिन्छ तर कारोबारी पनि उत्ति नै सक्रिय हुन्छन्। सुराकीबिना लागूपदार्थ कारोबारी पक्राउ गर्न सकिँदैन’, एसएसपी चन्दले भने। नेपालमा मकवानपुर, पर्सा, बारा, रौतहट, नेपालगन्ज र सर्लाही गाँजा तथा चरेस उत्पादनका लागि चर्चित मानिन्छन्। खैरो हेरोइन र फर्मास्युटिकल ड्रग्स भने भारतबाटै नेपाल भित्रिन्छ।