सुवास गोतामे
काठमाडौं : उपत्यकाका ७६ स्थानमा सडक दुर्घटना बढी हुने गरेको पाइएको छ। ट्राफिक प्रहरीले आर्थिक वर्ष २०६८/०६९ मा भएका सडक दुर्घटना विश्लेषण गरेर सबैभन्दा बढी दुर्घटना हुने स्थान (ब्ल्याक स्पट) पहिचान गरेको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डीएसपी पवन गिरीका अनुसार गौशाला, चाबहिल, जोरपाटी, बाडभन्ज्याङ, सुकेधारास्थित प्रकाशमार्ग, बसुन्धरादेखि तिलिङटार, नारायणगोपालचोक, सोल्टीमोड, भोटेबहाल, बल्खु, धुम्बाराही, रविभवन र चप्पल कारखानामा बढी दुर्घटना हुने गरेका छन्।
यस्तै एअरपोर्टस्थित कार्गो भवनअगाडिको सडक, सूचना विभागअगाडिको सडक, घन्टाघर, कमलपोखरीस्थित लोप्सेखोला, बाफल, सानोभर्‍याङ, हल्चोक, जमल, केशरमहल, पुरानो बसपार्क, धोबीघाट, सानेपा, बबरमहल र माइतीघर पनि बढी दुर्घटना हुने सूचीमा छन्।
त्यस्तै कलंकीदेखि नैकाप, खरीपाटी, ढुंगेधारा, वनस्थली, बालाजु, माछापोखरी, गोंगबु, गोंगबु टाउन प्लानिङ, सामाखुसी, चोभार, सुन्दरीघाट, गुर्जुधारा, त्रिभुवनपार्कअगाडि र बत्तीसपुतली सडक दुर्घटनाका हिसाबले कालोसूचीमा छन्। त्यस्तै नक्खु, भैंसेपाटी, नयाँबजार, खोकना, फूलबारीमार्ग, मगरगाउँ, छ्याम्सीकोट र ग्वार्को सडकखण्डलाई पनि महाशाखाले ब्ल्याक स्पटमा राखेको छ।
भक्तपुरको चारदोबाटोचोक, लोकन्थली, एसएमचोक ठिमी, सिर्जनानगर, जगाती, दुवाकोट, लाते र भाते ढिकुरलाई पनि ब्ल्याक स्पटमा राखिएको जानकारी महाशाखाका प्रवक्ता गिरीले दिए।
महाशाखाका अनुसार यी ब्ल्याक स्पटमा गत आवमा एक हजार आठ सय २५ वटा दुर्घटना भएका थिए। दुर्घटनामा परी ७३ जनाले ज्यान गुमाएको, एक सय ८३ गम्भीर र एक हजार तीन सय ६८ जना सामान्य घाइते भएका थिए।
चालकको लापरबाही, तीव्रगतिमा गाडी हाँक्नु, चालक तथा पैदलयात्रुमा चेतनाको कमी, घुमाउरो तथा ओरालो सडक, लेन अनुशासनको पालना नहुनु, मदिरा पिएर गाडी चलाउनु, जेब्रा क्रसिङ नहुनु, गाडीको चाप, मुख्य चोकचोकमा आकासे पुलको अभावजस्ता कारणले दुर्घटना हुने गरेको प्रवक्ता गिरीले बताए। उनले भने, ‘चालक, यात्रु तथा पैदलयात्रुमा चेतना विकास नभएसम्म दुर्घटना न्यूनीकरण गर्न सकिँदैन।’