Saturday, August 2, 2014

आइजीपीको कडा आदेश

आइजीपीको कडा आदेश : एनजिओमा नलाग र मिडियामा नबोल
काठमाडौं : 'अफिसको काम छोडेर एनजिओका कार्यक्रम धाउने, यो भएन। अब एनजिओको सेमिनारमा पनि नजानुस्। अनि मिडियामा जे पायो, त्यही बोल्दै पनि नहिड्नुस्। प्रवक्ता तोकिएको कुनै मतलव नै भएन, प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल यसरी कड्किएपछि प्रहरी हल स्तब्ध बन्यो। बिहीबार मुख्य घटना प्रहरी कार्यदलमा आयोजित अन्तक्रिया कार्यक्रममा अर्यालले यसरी नै कडा शैलीमा झपारे। उनले भने, 'कुरा धेरै भयो। अब काम गर्नुस्।'

अर्याल महानिरिक्षक भएपछि आयुक्त कार्यालय मातहतका प्रहरी कार्यलय प्रमुखसँग गरेको यो पहिलो अन्तक्रिया कार्यक्रम हो। उनले खासगरी प्रहरीका उच्च अधिकृतहरू गैरसरकारी संस्था (एनजिओ) का कार्यक्रममा बढी ध्यान दिन थालेको र एनजिओको खटनपटनमा बढी घुम्न थालेको बताउँदै भने, 'अफिसको काम पनि छोडेर एनजिओमा लाग्नेलाई अब कारबाही हुनेछ।' अर्यालले सूचना दिनका लागि केन्द्रमा तथा अन्य तहमा पनि प्रवक्ता तोकिएको अवस्थामा सबैले मिडियासँग बोल्न आवश्यक नभएको बताए। 'पत्रकार भेट्नसाथ प्रवक्ता भइदिने काम बन्द गरौं। यसले संस्थाको चेनअफ कमाण्डलाई अझ् बलियो बनाउँछ।'
कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख डिआईजी सुरेन्द्रबहादुर शाह, कार्य विभागका प्रमुख डिआईजी केदार साउद, प्रहरी महानिरीक्षक कार्यालयका डिआईजी विज्ञानराज शर्मा, ट्राफिकका डिआईजी केशव अधिकारी, महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख, वृत्त र प्रभागका प्रमुख एवं ट्राफिक प्रहरीमा ईन्सपेक्टर ईन्चार्ज हुने कार्यालयका प्रमुखहरू सहभागी थिए। अपराध अनुसन्धानमा समस्या, प्रहरी मुख्यालयले गर्नुपर्ने सहयोग र प्रहरी परिचालनलाई कसरी चुस्तदुरूस्त पार्न सकिन्छ भन्ने उद्देश्यले गरिएको अन्तरक्रिया कार्यक्रम आयुक्त कार्यालयले आयोजना गरेको थियो।
महानिरीक्षक अर्यालले अपराध अनुसन्धान राम्रो भए मात्रै अपराध नियन्त्रण गर्न सकिन्छ भन्दै अनुसन्धानका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका थिए। ' प्रहरीको काम नागरिकको जिउ धनको सुरक्षा र अपराध अनुसन्धान गर्ने हो, जहाँपायो त्यहीं कार्यक्रममा जाने, मिडियामा जथभावी बोल्ने, अब तोकिएको व्यक्ति भन्दा अरूले बोल्ने काम बन्द गर्नुस, अर्यालले चेतावनी दिंदै भने। आयुक्त कार्यालयले पछिल्लो समयमा हत्या, अपहरण र डाँका जस्ताअपराध नियन्त्रणमा आए पनि गुण्डागर्दी र महिला बालबालिका सम्बन्धी अपराधमा वृद्धि भएको प्रष्टीकरण दिएको थियो।
- See more at: http://annapurnapost.com/en/news/social/8560/%E0%A4%86%E0%A4%87%E0%A4%9C%E0%A5%80%E0%A4%AA%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%A1%E0%A4%BE-%E0%A4%86%E0%A4%A6%E0%A5%87%E0%A4%B6--%E0%A4%8F%E0%A4%A8%E0%A4%9C%E0%A4%BF%E0%A4%93%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%97-%E0%A4%B0-%E0%A4%AE%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%AC%E0%A5%8B%E0%A4%B2.htm#sthash.vOJii6U7.dpuf

No comments: