Saturday, August 2, 2014

भ्रष्टाचार आरोपमा डीआईजी भण्डारी निलम्बित


काठमाडौं : भ्रष्टाचारको आरोप लागेका नेपाल प्रहरीका डीआईजी गोपाल भण्डारी निलम्बनमा परेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख हुँदा भण्डारीले भ्रष्टाचार गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका कारण छानबिन गर्न उनलाई निलम्बन गरिएको हो। आयोगले बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी भण्डारीले प्रमाण लोप गर्नसक्ने र अनुसन्धानमा नकारात्मक प्रभाव पार्नसक्ने भन्दै निलम्बन गर्न निर्देशन दिएको हो। प्रहरी मुख्यालयले गृह मन्त्रालयमा भण्डारीलाई निलम्बन सिफारिस गरेपछि उनी निलम्बित भएका हुन्।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार डीआईजी भण्डारीले विमानस्थलमा रहँदा पदको दुरुपयोग गरी भ्रष्टाचार एवं अनियमित कार्य गरेको उजुरी परेको थियो। तीन महिनादेखि उनीविरुद्धको उजुरीमा अनुसन्धान जारी थियो। 'पदमा बस्दा भण्डारीले प्रमाण लुकाउन सक्ने र अनुसन्धानमा प्रभाव पार्नसक्ने देखिएकाले निलम्बन गर्न पत्र लेखेका हौं', उनले भने।
विमानस्थल सुरक्षामा लापरबाही गरेको भन्दै गृहको निर्देशनमा भण्डारीलाई तीन महिनाअघि मुख्यालय तानिएको थियो। स्रोतका अनुसार भिजिट भिसामा मलेसियासहित कतार, दुबईलगायत अरब मुलुकमा दैनिक ४० देखि ५० जना व्यक्तिलाई पठाउँदै आएको अरोप डीआईजी भण्डारीमाथि छ। उनीमाथि विदेशबाट ल्याइएका एक दर्जनभन्दा बढी ल्यापटप, मोबाइल भन्सारमा नबुझाई घर लगेको, चिनियाँ र पाकिस्तानी पर्यटकले सौगातका रूपमा आफ्नो मुलुक लैजान लागेका बहुमूल्य सामान नियन्त्रणमा लिई घर लगेको, ठूलो परिमाणमा अमेरिकी डलर र भारतीय रुपैयाँ लिएको, विदेश पठाउन सेटिङ मिलाउन प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिने गरेको तथा सुर्तीजन्य पदार्थ बाहिर लैजान दिएर प्रतिकिलो पाँच रुपैयाँ घूस लिने गरेको आरोप डीआईजी भण्डारीमाथि छ।
भण्डारीविरुद्ध उजुरी परेपछि आयोगले विमानस्थलका तत्कालीन एसएसपी, एसपी, प्रहरी निरीक्षक, लेखा शाखाका अन्य प्रहरी क र्मचारी र उनका सहयोगी पूर्ण खत्री, जितेन्द्र महतो र गाडीचालक तिलबहादुर थापासँग पनि बयान लिएको थियो। उनीहरूले सबै काम डीआईजी भण्डारीकै निर्देशनमा गरेको बयान दिएपछि अख्यितारले अनुसन्धान थालेको हो। भण्डारीअघि विमानस्थलमै कार्यरत एसएसपी रविराज श्रेष्ठलाई पनि विदेशी मुद्रा तस्करीमा सघाएको आरोपमा भविष्यमा सरकारी नोकरीमा अयोग्य नठहरिने गरी कारबाही भएको थियो।
- See more at: http://annapurnapost.com/en/news/social/

No comments: