Saturday, August 2, 2014

मनपरी माइक्रो

मनपरी माइक्रो
राजधानीको माइतीघरमा ट्राफिक जाम भएका बेला लेन अनुशासन उल्लंघन गरेर सिंहदरबारतर्फ जान कोज्दै माइक्रोबस (तस्बीर: विकास कार्की)
राजधानीको माइतीघरमा ट्राफिक जाम भएका बेला लेन अनुशासन उल्लंघन गरेर सिंहदरबारतर्फ जान कोज्दै माइक्रोबस (तस्बीर: विकास कार्की)
काठमाडौं : काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सहरी यातायातका कुनै मापदण्ड पूरा गरेका छैनन्। यात्रुलाई गर्ने व्यवहार, सेवासुविधा तथा सवारीसाधनको अवस्थाबारे चासो दिने निकाय मौन छन्। 'सार्वजनिक सवारीसाधनलाई गुडे पुग्छ, गाडीको यान्त्रिक अवस्था कस्तो छ, त्यो मतलब छैन', महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी केशव अधिकारीले भने, 'गाडीको अवस्थाका बारेमा यातायात व्यवस्था विभागले हेर्नुपर्ने हो, हामीले त व्यवस्थापन गर्ने मात्रै हो।'
तीनकुनेबाट बालाजुतर्फ गुडेको बा१ज ७६८३ नम्बरको माइक्रोबसभित्र खुट्टा राख्ने ठाउँ थिएन। अन्नपूर्णकर्मीले नयाँबसपार्क जाने बताएपछि माइक्रोका सहचालकले 'सिट खाली छ' भन्दै जबरजस्ती तानेर भित्र कोचे। माइक्रोमा यात्रु असिनपसिन हुँदै टाउको निहुर्‍याएर उभिएका थिए। तर सहचालक 'सिट खाली छ' भन्दै यात्रु थपेका थप्यै थिए।
सिनामंगल पुगेपछि एउटी महिला चढिन्। उनले सोधिन्, 'खोइ सिट खाली छ भनेको होइन?' सहचालकले जबाफ दिए, 'एकछिनमा खाली हुन्छ।' ती महिला ओर्लिन खोज्दै थिइन् तर चालकले माइक्रो हुइँक्याइहाले। काँडाघारी-रत्नपार्क चल्ने बा२ज ७०१३ नम्बरको फोर्स यातायातको बसमा चालकपछाडिका सिट निकालेर धेरै मान्छे बस्न मिल्ने गरी नयाँ सिट हालिएको छ।
गान्धीचोकबाट चढेकी महिलाले भीडमा च्यापिएपछि ओर्लिन खोजिन् तर सहचालकले दिएनन्। उनले रूखो स्वरमा भने, 'गाडीमा सोफा हुँदैन, कोचिएरै त जाने हो।' राजधानीका सार्वजनिक यातायातको मनोमानी हेर्न मंगलबार अन्नपूर्णकर्मीले यात्रा गर्दा दिनभरि यस्ता दर्जनौं घटना देखिए। पैदल यात्रुको होसै उडाउने गरी माइक्रो गुडाएको दृश्य जताततै देखियो। अधिकांश चालकले पछाडिबाट हर्न बजाउँदा सडकमा गुडिरहेका दुईपांग्रे सवारीका चालक तर्सिन्थे। माइक्रो चालक 'मर्लास्' भन्दै ओभरटेक गर्थे।
सरकारी नियम उल्लंघन गर्दै राजधानीमा चल्ने अधिकांश माइक्रो तथा फोर्स यातायातमा सिट झिकेर लामो बेन्च राखिएको छ। क्षमताभन्दा बढी यात्रु कोच्न आफूखसी सिट राख्दासमेत ट्राफिक र यातायात व्यवस्था विभाग रमिते छन्। जथाभाबी ओभरटेक गर्ने र अनियन्त्रित गतिमा गाडी गुडाउँदा सडक दुर्घटना बढेका छन्।
बालाजु बसपार्कबाट रत्नपार्कतर्फ गुडिरहेको एउटा माइक्रोबसमा यात्रु उकुसमुकुस थिए। 'यस्तो उकुसमुकुस छ मान्छे हालेको हाल्यै छ। अर्कोपिट्टको सिटमा ठोक्किने गरी कुदाउँछ', अन्नपूर्णकर्मीसँगै यात्रा गरिरहेका एक यात्रुले भने, 'सरकारलाई वास्ता छैन, हामीले पनि कुन बस चढ्ने भनेर छनोट गर्न पाउँदैनौं।'
बालाजुचोकबाट न्युरोड गेटसम्म बा२ख ७२८० नम्बरको फोर्स गाडीमा चढ्दा खुट्टा टेक्ने ठाउँ थिएन। यात्रु खचाखच उभिएका थिए। बसका चालकले सहयोगीलाई भने, 'ए भाइ मान्छे मिलाएर राख है, बेलुका तँलाई नै एक गिलास बढी दारु चाहिन्छ।' यात्रु गलल्ल हाँसे- हा...हा...हा...।
उपत्यकामा चल्ने बस, माइक्रोबस र टेम्पो अस्तव्यस्त छन्। गाडीमा फोहोर पनि उस्तै हुन्छ। माइक्रोबसको ढोका खोलेपछि लगाउनै मिल्दैन। धेरै सवारीसाधनका ढोका भुइँमा झर्छन् भने झ्यालमा समेत सिसा छैन। यातायात व्यवस्था विभागले सवारी जाँचपास अनुगमनमा बेवास्ता गर्दा समस्या बढेको हो।
विभागका महानिर्देशक सुदर्शन ढकालले कारबाही नगर्दा सवारीसाधनको मनोमानी बढेको स्वीकारे। उनले भने, 'मलाई सूचना आउनेबित्तिकै जाँचपासमा कडाइ गर्छु, अब त्यस्ता सवारीसाधनमाथि कारबाही गर्न अभियान थाल्छौं।' उनले यान्त्रिक तथा भौतिक अवस्थाबारे विभागले कडाइ गर्ने र बढी यात्रु राख्नेमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र पार्ने बताए।
गोंगबुदेखि न्युरोडसम्म चल्ने फोर्स गाडीको क्षमता १८ सिट भए पनि ३० जनाभन्दा बढी यात्रु कोचिएका थिए। यात्रु त कोच्नुभएछ नि भन्दा चालकले जबाफ दिए, 'साहुले ठेक्कामा दिएको पैसा बेलुका माग्छ, तलबले पुग्दैन, मान्छे नकोचे त कसरी बाँच्नु?' रत्नपार्कबाट लगनखेलसम्म चल्ने बा१ज ९०८० नम्बरको माइक्रोबस राष्ट्रिय सभागृह मोडमा रोकियो।
ट्राफिक प्रहरीले पार्किङका लागि छुट्याइदिएको ठाउँमा हुइँकिएर आएको माइक्रोमा एकैपटक ब्रेक लगाउँदा यात्रु झस्किए। जाउलाखेल जाँदै गरेकी मनिता महर्जनले सोधिन्, 'ए दाइ के गरेको यस्तो? मान्छे मर्ने गरी गाडी नहाँक्नुस् न।' चालकले जबाफ दिए, 'नहाँकेर के गर्नु, गाडी क्यु सिस्टममा हुन्छ, छुट्यो भने जरिबाना तिर्नुपर्छ।' यात्रुलाई तर्साउँदै फेरि माइक्रो हुइँकियो।
रत्नपार्क-नयाँबानेश्वर-चाबहिल-आरुबारी चल्ने बा२ख ४५७ नम्बरको बसको हालत पनि त्यस्तै थियो। बसभित्र मान्छेभन्दा धेरै काउली, बन्दा, आलु, साग, लसुन र गोलभेडा लोड गरिएको थियो।
ट्राफिक प्रहरी महाशाखाले माइक्रोबसको आतंक रोक्न सोमबारदेखि पाँचदिने अभियान सुरु गर्ने भएको छ।
 
- See more at: http://annapurnapost.com/en/news/social/5713/%E0%A4%AE%E0%A4%A8%E0%A4%AA%E0%A4%B0%E0%A5%80-%E0%A4%AE%E0%A4%BE%E0%A4%87%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A5%8B.htm#sthash.WQcPFuys.dpuf

No comments: