Saturday, August 2, 2014

अवैध सिकार खेलेर फर्कँदा कांग्रेस कार्यकर्ता प्रहरी फन्दामा

काठमाडौं : शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतसहित पाँचजना गत साता धादिङको मजुवा र भीमढुंगा सामुदायिक वनमा सिकार खेल्न गए। काठमाडौं नजिकैको त्यो वनमा सिकार खेलेपछि उनीहरूले नर्सरीभन्ज्याङको रेस्टुराँमा राति चार घन्टा रमाइलो गरे।
अवैध सिकार गरेर ल्याएको मासु र रक्सी खाएपछि बस्नेतसँगै सिकारमा गएका राजेशविक्रम शाही, लीलाबहादुर खड्का, शतीश शर्मा र जोन खड्काबीच घर फर्किने सल्लाह भयो। उनीहरूले लगेको ट्याक्सी बिग्रिएपछि अर्को ट्याक्सी खोजे। होटेलवालाको सहयोगमा बा१ज ७६७० नबरको टयाक्सी बोलाएर उनीहरू सीतापाइलातिर हान्निए।
राति ३ बजे भीमढुंगाबाट सीतापाइलातर्फ आउँदै गरेको ट्याक्सीमा पाँचजना देखेपछि फस्कुचोकमा प्रहरीले सोधपुछ गर्‍यो। सोधपुछका क्रममा बस्नेत र शाहीले प्रहरीलाई दुव्र्यवहारसमेत गरे। त्यहीबेला प्रहरीले खानतलासी गर्‍यो।
प्रहरीले बस्नेतबाट .२२ बोरको राइफल, त्यसको ११ राउन्ड गोली, खड्काको झोलाबाट .२२ बोरको बन्दुक, त्यसको ४३ थान गोली, सर्ट गन एउटा र ११ थान गोली बरामद गर्‍यो। प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार उनीहरूले इजाजत भएको हतियार बोकेको भन्दै उम्किन खोजेका थिए।
उक्त वनमा हरिण, मृग, खरायोलगायतका वन्यजन्तु पाइने सूचनाका आधारमा उनीहरू सिकार खेल्न गएका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार शाही र लीलाबहादुर यसअघि पनि पटकपटक सिकार खेल्न त्यहाँ जाने गरेका थिए। बस्नेतसँगै पक्राउ परेका महेन्द्र पुलिस क्लबका पूर्वसञ्चालक शाही र ठेकेदार लीलाबहादुर पनि सिकार खेल्न सौखिन हुन्। लीलाबहादुरले सिकार खेल्न सिकाउन १७ वर्षीय छोरा जोनलाई समेत लगेका थिए। शतीश नेविसंघका पूर्वसहमहामन्त्री हुन्। लीलाबहादुर रसुवामा ठेक्कापट्टाको काम गर्थे।
ट्याक्सी चालकले उनीहरूले राति अबेरसम्म मासु र रक्सी खाएको बयान प्रहरीलाई दिएका छन्। 'राति एउटै होटेलमा चार घन्टासम्म बसेर सिकार गरेर ल्याएका मासु र रक्सी खाएको आशंका छ', अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।
पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना ऐनसँगै सिकार गरेको प्रमाणित भए वन्यजन्तुको अवैध सिकार मुद्दासमेत चल्नेछ। उनीहरूबाट बरामद हतियार नवीकरण भएको छैन। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले हतियारधारी छुटाउन सडकमा अराजक प्रदर्शन गरेको थियो।
बस्नेतको समूह गएकै क्षेत्रमा मृग मार्ने प्रहरी अस्पताल महाराजगन्जमा सई पदमा कार्यरत रामचन्द्र राई आलो मासुसहित दुई साताअघि पक्राउ परेका थिए। खोटाङका राईबाट मासु र एक थान टुटु हतियारसमेत बरामद भएको थियो। उनले भीमढुंगा सामुदायिक वनबाट मृग मारेर ल्याएको पुष्टि भइसकेको छ। प्रहरी प्रधान कार्यालयले राईलाई निलम्बन गर्न पत्र पठाइसकेको छ।
- See more at: http://annapurnapost.com/en/news/social

No comments: