- सुवास गोतामे
काठमाडौं: ‘सारे जहाँ से अच्छा हिन्दुस्ताँ हमारा’ छिमेकी देश भारतमा राष्ट्रिय पर्व तथा महत्त्वपूर्ण समारोहमा यही गीत गुञ्जिने गर्छ। प्रसिद्ध भारतीय गजलकार मोहम्मद इकवालले सन् १९०५ मा उर्दुमा लेखेको यो गीत भारतको देशभक्तिपूर्ण गीत मानिन्छ। तर नेपाल र नेपालीको सुरक्षाका लागि ज्यानको आहूति दिन तयार हुने शपथ खाएका नेपाली सुरक्षाकर्मीले शिरमा लगाउने टोपीमा पनि यही गीत लेखिएको पाइएको छ।
प्रहरी उपरीक्षक (एसपी) देखि जवानसम्मले लगाउने गरेको कलेजी रङको ब्यारेट क्यापमा यस्तो गीत प्रिन्ट भएको ट्याग भेटिन्छ। प्रहरी प्रधान कार्यालयले टेन्डर अह्वान गरी पैसा तिरेर खरिद गरेको टोपीमा ‘सारे जहाँ से अच्छा हिन्दुस्ताँ हमारा’ लेखिएको ट्यागसमेत नहटाउनु हदैसम्मको लापरबाही हो।
समाचार संकलनका सिलसिलामा बुधबार अन्नपूर्णकर्मी महानगरीय प्रहरी आयुक्त कार्यालय पुग्दा एक एसपी आफूले लगाएको टोपी देखाएर भन्दै थिए, ‘यी हेर्नुस्, अझै पनि हामीले लगाउने टोपीमा यस्तो लेखिएको छ, नेपाल र नेपालीका लागि काम गर्छौं तर शिरमा भारत महान् भनेर लेखिएको टोपी लगाएर हिँड्नुपरेको छ।’ उनले लगाएको टोपीमा यो गीतको लाइनसँगै ‘वान पिस ब्यारेट क्याप, जेएचई स्पेसल’ लेखिएको थियो। ती एसपीले मुख्यालयको लापरबाहीका कारण यस्तो भएको बताए।
ब्यारेट क्याप नेपालमा नबन्ने हुँदा प्रहरी मुख्यालयले टेन्डर आह्=vaन गरी मगाउँछ। मुख्यालय प्रबन्ध शाखाका एसपी प्रेमबहादुर मल्लका अनुसार विशेषगरी भारत र चीनबाट यस्ता टोपी आउने गरेका छन्। एकपटकमा १० हजारदेखि ४० हजारसम्म टोपी खरिद हुने गरेको छ। एउटा टोपीको मूल्य एक सय ३० देखि एक सय ४५ रुपैयाँसम्म पर्ने एसपी मल्लले बताए।
‘ठूलो संख्यामा क्याप आउने हुँदा एकएक गरी छुट्ट्याउन गाह्रो हुन्छ। तर नेपाल प्रहरीले लगाउने क्यापमा त्यस्तो लेखिएको हुनु कुनै पनि अर्थमा राम्रो होइन’, मल्लले भने।
प्रहरी महानिरीक्षक कुवेरसिंह रानासमेत यस विषयमा बेखबर छन्। ‘मलाई अहिलेसम्म यसबारे जानकारी छैन, यी टोपी हाम्रा उत्पादन होइनन्। व्यापारीले छिमेकी मुलुकबाट मगाउने गरेका छन्। तर पनि टोपी लगाउने सुरक्षाकर्मीले ख्याल गर्नुपर्थ्यो’, उनले भने, ‘म छानबिन गर्छु।’
1 comment:
pease read and comment
Post a Comment