मिति : २०७० माघ ६, सोमबार [767 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : सूर्यबहादुर केसी नेपाल प्रहरीका पूर्व सई हुन्। बीएल उत्तीर्ण उनको सामाखुसीमा साढे दुईतले घर छ। परिवार पनि सुखी छ। सामान्य रूपमा हेर्दा उनी कुनै आपराधिक गतिविधिमा लाग्छन् जस्तो लाग्दैन। तर उनी शुक्रबार नियन्त्रित लागूऔषध (डाइजेपाम, बुप्रिनर्फिन) ओसारपसार तथा बिक्रीवितरण आरोपमा पक्राउ परे। प्रहरीका अनुसार यो उनको पहिलो अपराधकर्म भने होइन।
केसीसँग राजधानीका गौशाला र थानकोट प्रहरी कार्यालयमा काम गरेको अनुभव छ। थानकोटमै हुँदा डलर काण्डमा परेर पेन्सन पाक्न एक वर्ष बाँकी हुँदा उनले २०५४ मा जागिर गुमाएका थिए। केसी जागिर छुटेको केही समयमै अपराधको दुनियाँमा छिरे।
प्रहरीका अनुसार बोक्न सजिलो, सजिलै बिक्री हुने र चुनौती पनि कम हुने नियन्त्रित लागूऔषध ओसारपसार तथा बिक्रीवितरणका लागि उनले उपत्यकाका तीनवटै जिल्ला र पोखरामा ठूलो सञ्जाल बनाए। राजधानीका विभिन्न स्थानबाट लागूऔषधका खुद्रा व्यापारी पक्राउ परेपछि पोलिएका केसीलाई प्रहरीले पहिलोपटक २०६४ जेठ २४ गते थानकोटबाट पक्राउ गरेको थियो। त्यतिबेला उनको साथबाट ७५ हजार नौ सय २० एम्पुल लागूऔषध बरामद भएको थियो।
लागूऔषध कारोबार अभियोगमा जिल्ला अदालत काठमाडौंले केसीलाई ६ वर्ष कैद र आठ लाख जरिबाना तोकेपछि उनी जेल पनि बसे। जेलमुक्त भएपछि पुरानै सञ्जाल प्रयोग गरेर उनी लागूऔषध कारोबारमै फर्किए। उनी शुक्रबार तीन हजार ६ सय थान नियन्त्रित लागूऔषधसहित सामाखुसीबाट पक्राउ परे। दुई सय थान एम्पुल नियन्त्रित लागूऔषध लिएर खुद्रा व्यापारी पर्खेर बसेका केसीलाई प्रहरीले पक्राउ गरेपछि उनले लुकाएर राखेका अन्य थप लागूऔषध फेलापरेको हो।
केसी अंग्रेजीमा पनि दख्खल छन्। रक्सौलबाट नियन्त्रित लागूऔषध ल्याएर उपत्यकासँगै पोखरामा समेत कारोबार गर्दै आएका केसीको सञ्जाल धेरै बलियो रहेको दाबी लागूऔषध नियन्त्रण ब्युरोको छ।
घटनाबारे जानकारी दिन आइतबार ब्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआईजी प्रतापसिंह थापाले भने, 'केसी पक्राउ परेको घटनाले उपत्यका र पोखराबीचको ठूलो सञ्जाल तोड्न केही हदसम्म सफलता मिलेको छ।'
घटनाबारे जानकारी दिन आइतबार ब्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआईजी प्रतापसिंह थापाले भने, 'केसी पक्राउ परेको घटनाले उपत्यका र पोखराबीचको ठूलो सञ्जाल तोड्न केही हदसम्म सफलता मिलेको छ।'
केसीले रक्सौलका केही गिरोहको नामसमेत पोलेका छन्। प्रहरीका अनुसार उनले रक्सौलबाट अवैध रूपमा एक जोडी नियन्त्रित लागूऔषधको एक सय २० रुपैयाँमा खरिद गरेर ल्याएपछि काठमाडौंमा थोकमा दुई सय र खुद्रामा पाँच सय रुपैयाँसम्ममा बेच्दै आएका थिए। डीआईजी थापाका अनुसार खुद्रा व्यापारीले भने प्रयोगकर्तालाई आठ सय देखि ११ सय रुपैयाँसम्ममा बेच्दै आएका छन्।
- See more at: http://annapurnapost.com/en/news/social/2799
No comments:
Post a Comment