Saturday, August 2, 2014

तेल हाल्ने बजेट नभएपछि प्रहरीले रात्री गस्ती घटायो

काठमाडौं : प्रहरीसँग धेरै गाडी छन् तर गुडाउन तेल हाल्ने पैसा छैन। त्यसैले उपत्यकामा प्रहरीले रात्रिकालीन गस्ती घटाएको छ। गाडी कम भएको गुनासो गरिरहेको प्रहरीले दोस्रो संविधानसभा चुनाउका लागि भारतले सहयोग गरेका नयाँ पिकअप भ्यान पाएको छ।
'गाडी त आयो तर तेल हाल्ने पैसा नहुँदा समस्या छ', महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले भने, 'त्यसैले हामीले रातमा गर्ने गस्ती आधा घटाएका छौं।' प्रहरीलाई भारतीय सहयोगका ६१ वटा नयाँ स्कार्पियोसहितका गाडी प्राप्त भएका छन्।
आयुक्त र मातहत कार्यालयमा हाल दुई सय ७८ वटा गाडी र एक सय ८४ वटा मोटरसाइकल छन्। यीमध्ये १३ वटा गाडी बिग्रिएर थन्किएका छन् भने १२ वटा मर्मतका क्रममा छन्। काठमाडौं, ललितपुर र भक्तपुर प्रहरीलाई वार्षिक रूपमा छुट्याइएको बजेट अपुग हुँदा भएका गाडी पनि प्रयोगमा ल्याउन नसकिएको हो।
एसएसपी पालका अनुसार काठमाडौं परिसरलाई वार्षिक एक करोड ७४ हजार, ललितपुरलाई ३८ लाख ७० हजार र भक्तपुरलाई २६ लाख ३० हजार रुपैयाँ बजेट छुट्याइएको छ। 'यो बजेटले पुगेन, थप बजेट नभई गाडी मर्मत पनि नहुने देखिएको छ', काठमाडौं परिसरका प्रमुख एसएसपी सुबोध घिमिरेले भने।
नयाँ गाडी, सीआरभी र क्युआरटी भ्यान थपिए पनि तेल हाल्ने उपाय नभएपछि थप बजेटका लागि प्रधान कार्यालयमा पत्राचार गर्ने तयारी भइरहेको जानकारी पनि पालले दिए। स्थानीय व्यापारीसँग मागेर भए पनि तेल जुटाउने प्रहरीलाई पछिल्लो समयमा प्रहरी प्रधान कार्यालयले तेल नमाग्न निर्देशन दिएको छ।
अहिले प्रहरी आयुक्त कार्यालयसँग ९५ गाडी र ४५ मोटरसाइकल, अपराध महाशाखासँग ८ गाडी र १७ मोटरसाइकल छन्। त्यस्तै काठमाडौं परिसरसँग ६८ गाडी र ५२ मोटरसाइकल, ललितपुर परिसरसँग १४ गाडी र १६ मोटरसाइकल रहेका छन्।
विमानस्थल सुरक्षागार्ड कार्यालयसँग ५ गाडी र २ मोटरसाइकल, ट्राफिक महाशाखासँग २२ गाडी र २८ मोटरसाइकल, आयुक्त शिक्षालयसँग १ गाडी र १ मोटरसाइकल, गण र गुल्मसँग २३ गाडी र ९ मोटरसाइकल, घटना कार्यालयसँग ८ गाडी र १ मोटरसाइकल तथा प्रहरी विद्यालय सामाखुसीसँग ६ वटा गाडी रहेका छन्।
- See more at: http://annapurnapost.com/en/news/social/2831

No comments: