मिति : २०७० माघ ८, बुधबार [4840 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : दहचोकका केशव गिरी घर जान सातदोबाटोबाट रिङरोड चल्ने बस चढे। सीतापाइला नपुग्दै खल्तीको २५ हजार रुपैयाँ मात्र गएन उनले कुटाइसमेत खानुपर्यो।
बल्खुबाट चारजना युवा चढे र गिरीको मनिपर्स फुत्काएर कलंकीमा झरे। प्रतिकार गर्दा उनलाई पाकेटमारले उल्टै 'कसलाई पाकेटमार भनिस्' भन्दै कुटे। यो घटना गत पुस ३० गतेको हो।
राजधानीमा गिरीजस्ता धेरै व्यक्ति पाकेटमाराको फन्दामा पर्ने गरेका छन्। प्रहरीका अनुसार सातामा औसत चारदेखि पाँचवटा पाकेटमाराका घटना हुने गरेका छन्।
प्रहरीलाई गिरीले दिएको जानकारीअनुसार ती पाकेटमाराले बसभित्र टिप्लीमास्टर, खिच, ढेकजस्ता शब्द प्रयोग गरेका थिए। यस्तै प्रकृतिको अर्को घटनामा प्रहरीले चारजना पाकेटमारा समातेको थियो। उनीहरूलाई गिरीले सुनाएका शब्दबारे सोध्दा सजिलै जवाफ दिए। टिप्लीमास्टरको अर्थ पाकेटमारको नाइके, खिचको अर्थ पैसा निकाल, ढेकको अर्थ पाकेटमार्दा छेक्ने मानिस। सार्वजनिक बसको खचाखच भीडमा यस्ता शब्द सुनिए त्यहाँ पाकेटमार रहेको अनुमान लगाउन सकिन्छ।
पाकेटमाराका गिरोहले आफूले मात्र बुझ्ने कोड भाषा प्रयोग गर्छन्। महानगरीय प्रहरी अपराध महाशाखाले पाकेटमाराका विभिन्न घटना अनुसन्धान गर्दा पाकेटरमाराले प्रयोग गर्ने शब्द र तिनका अर्थ संकलन गरेर राखेको छ।
पाकेटमाराले आफैं पैसा खसालेर 'कसको पैसा खसेको हो? पाकेटमारा छ कि क्या हो' भनेर नाटक समेत गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यसरी चिच्याउँदा यात्रुले खल्ती छामछुम पार्छन् र पाकेटमाराले कोसँग पैसा रहेछ भन्ने थाहा पाउँछन्।
महानगरीय प्रहरी वृत्त गौशालाले गत पुस २४ गते सिन्धुपाल्चोकका मिलन अधिकारीलाई पक्राउ गर्यो। मिलनले आफू २० वर्षदेखि पाकेट मार्ने काममा लागेको बयान प्रहरीलाई दिए। वृत्तका प्रमुख डीएसपी अभिनारायण काफ्लेका अनुसार अधिकारीले एक हजार पाँच सयजनाको पाकेट मारेको बयान दिएका थिए। प्रहरीले अदालतमा मुद्दा लगाएपछि सात हजार धरौटी माग्दा बुझाउन नसकेपछि उनी जेल गए।
अरू सिट हुँदाहुँदै पनि अर्काको सिटमा आएर बढी भीडभाड गर्ने तथा झ्यालतिर थुक्ने बाहना बनाउने र झर्नुछ भनेर सिट सार्न खोजेमा पनि त्यस्ता व्यक्तिहरू पाकेटमारा हुन सक्ने डीएसपी ओम अधिकारीले बताए।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डीएसपी भीम ढकालका अनुसार उपत्यकामा करिब डेढ सयजना पाकेटमारा छन्। रिङरोड परिक्रमा गर्ने बस तथा माइक्रोबस, नेपाल यातायातका बस, कान्तिपुर यातायातका बसमा पाकेटमारा बढी सक्रिय छन्। कलंकी, कालीमाटी, बाफल, सुन्धारा, गौशाला, कोटेश्वर, एअरपोर्ट, तीनकुने, सातदोबाटो, नयाँ बसपार्क, सोह्रखुट्टेलगायतका स्थानमा बढी पाकेटमारा हुने गरेको प्रहरी विश्लेषण छ।
राजधानीमा बिहान ९ देखि साढे १० बजे र साँझ साढे पाँच बजेदेखि सात बजेसम्म पाकेटमाराको बिगबिगी हुने गरेको छ। डीएसपी ढकालले कुनै घटनामा बसका चालक र सहचालक पनि पाकेटमारासँग मिलेका हुन्छन्।
'ठूलो परिमाणको रुपैयाँ तथा महत्त्वपूर्ण समान (नागरिकता, राहदानी, एटिएमकार्ड र अन्य कागजात) पाकेटमारेमा प्रहरी कार्यालयमा उजुरी दिने र थोरै पैसा पाकेटमारेमा उजुरी नआउने हुँदा यति नै घटना हुन्छन् भन्ने अनुमान लगाउन सकिँदैन', ढकालले भने।
- See more at: http://annapurnapost.com/en/news/social/2881
No comments:
Post a Comment