मिति : २०७० माघ ८, बुधबार [264 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : जेल सजाय भोगिरहेका लोग्नेलाई चरेश उपहार लगिदिने पत्नी पक्राउ परेकी छन्। केन्द्रीय कारागारमा लागूऔषध मुद्दामा दुई वर्षदेखि सजाय भोगिरहेका राजेन्द्र श्रेष्ठलाई उपहारस्वरूप चरेश लैजाँदै गर्दा सविता अधिकारी (श्रेष्ठ) पक्राउ परेकी हुन्।
कारागार प्रवेशका क्रममा खानतलासी गर्दा प्लास्टिकमा पोको पारेर ज्याकेटको गोजीमा लुकाएर ल्याएको ३.२ ग्राम चरेश फेला परेको जानकारी कारागार सुरक्षा प्रमुख डीएसपी नयनसिंह कार्कीले दिए। सविताले भने आफ्नै लागि चरेश बोकेको बयान दिएकी छन्। पतिलाई जोगाउन उनले आफू पनि लागूऔषध दुर्व्यसनी भएको झूटो दाबी गरेको आशंका प्रहरीको छ।
पतिपत्नीको भेट भने हुन पाएन। सवितालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ। 'कारागारमा रहेका कैदीबन्दीलाई भेट्न आउने आफन्तको शरीर हामीले खानतलासी गर्दै आएका छौं, संवेदनशील स्थानमा थोरै परिमाणमा लागूऔषध भेटिनु ठूलो घटना हो', कार्कीले भने।
कारागार ऐन तथा नियमावलीमा जेलभित्रका कैदीबन्दीले कारागारभित्रको अनुशासन पालन नगरे सजाय बढ्ने व्यवस्था छ। काठमाडौं जिल्ला अदालतले सवितालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
यसैबीच प्रहरी प्रधान कार्यालयले भने सविताबाट १० ग्राम चरेश बरामद भएको जनाएको छ। उता केन्द्रीय कारागारले ३.२ ग्राम चरेश फेला परेको मुचुल्का तयार पारिसकेको छ। डीएसपी कार्कीले सुरुमा चरेश फेला परेपछि अनुमानका भरमा १० ग्राम भनेर मु यालयमा टिपाएकाले गलत सूचना सम्प्रेषण भएको बताए। तर प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी गणेश केसीले १० ग्राम नै बरामद भएको बताए। केन्द्रीय कारागार प्रहरीले मुद्दा चलाउन नमिल्ने भएकाले सवितालाई जनसेवाको जिम्मा लगाइएको हो।
- See more at: http://annapurnapost.com/en/news/social
No comments:
Post a Comment