Saturday, August 2, 2014

फेसबुकले बढायो अपराध

काठमाडौं : फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै साइबर अपराधका घटना पनि वृद्धि भएका छन्। तीन वर्षयता भएका साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकसम्बन्धी छन्।
पछिल्लो ६ महिनामा उपत्यका प्रहरीमा दर्ता भएका नौवटा साइबर अपराधका घटना सबै फेसबुकसँग सम्बन्धित छन्। फेसबुकमार्फत धम्क्याउने, अश्लील तस्बिर राख्नेलगायत अपराध बढेको प्रहरीले जनाएको छ। 'फेसबुकबाट गरिने अपराधका घटना बढिरहेका छन्', नेपाल प्रहरी आईटी सेलका निरीक्षक पशुपति रोयले भने। त्यस्ता अपराध गर्ने व्यक्तिका फेसबुक अकाउन्ट बन्द गरिदिन आग्रह गर्दै प्रहरीमा प्रत्येक महिना एक सय ५० वटासम्म उजुरी पर्ने गरेका छन्।
आर्थिक वर्ष २०६८/०६९ मा फेसबुकसँग सम्बन्धित ३२ वटा, इमेलबाट धम्कीका पाँच, तथ्यांक चोरीको एक, एटीएमको एक, इमेल ह्याकका दुई, वेब एसएमएस धम्कीका दुई र फिसिङका दुई गरी ४५ वटा अपराधका घटना दर्ता भएका थिए। आर्थिक वर्ष २०६९/०७० मा फेसबुकसँग सम्बन्धित ५८, इमेल धम्कीका आठ, गैरकानुनी डाडा एक्सेसको एक, इमेल ह्याकका तीन, वेब एसएमएस धम्कीका ६ र फिसिङको एउटा उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेको थियो।
प्रहरीले अनुसन्धानका क्रममा फेसबुकमार्फत भएका विभिन्न घटना पनि पत्ता लगाएको छ। गत पुसमा झापाका रवि शर्मा पूर्वपत्नीको फेसबुक वालमा अश्लील तस्बिर पोस्ट गरेपछि पक्राउ परेका थिए। अर्कै केटासँग बिहे गर्ने तयारीमा रहेकी उनकी पूर्वपत्नीलाई नक्कली फेसबुक अकाउन्टमार्फत बेइज्जती गरेको उजुरीका आधारमा रवि पक्राउ परेका थिए।
फोटोसपबाट बनाएको अश्लील तस्बिर सालीको फेसबुक वालमा पोस्ट गरेपछि पक्राउ परेका रामेछापका रोशन गजुरेल अदालतले तोकेको एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए। यौनसम्पर्कका लागि प्रस्ताव राख्दा सालीले अस्वीकार गरेपछि आफूले त्यस्तो काम गरेको बयान उनले प्रहरीलाई दिएका छन्।
प्रहरी निरीक्षक रोयका अनुसार धर्मस्थलीकी सुजिता श्रेष्ठ (नाम परिवर्तन) र खुसिबुका दीपेश महर्जन सँगै पढेका मिल्ने साथी थिए। दीपेशले सुजितालाई यौनसम्पर्कका लागि प्रस्ताव राखे। तर सुजिताले अस्वीकार गरेपछि दीपेशले सुजितासहित अन्य चारजना युवतीका नाम र फोन नम्बर अश्लील वेबसाइटमा राखिदिए। उक्त वेबसाइट हेरेर कसैले यौनसम्पर्कको प्रस्तावसहित सुजितालाई मोबाइलमा फोन गर्‍यो। उनले प्रहरीमा उजुरी दिएपछि दीपेश पक्राउ परे।
विद्युतीय कारोबार सजाय ऐनमा यस्ता अपराधमा संलग्न दोषीलाई पाँच वर्ष कारागार, एक लाख जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। अधिकांश घटनाका आरोपी धरौटीमा छुटेका छन्।
- See more at: http://annapurnapost.com/en/news/social/

No comments: