Saturday, August 2, 2014

अन्धकारमा बढ्यो अपराध


* गत पुस २७ गते राति काठमाडौंको मूलपानी गाविस मैचाखेतस्थित नेपाली सेनाको युद्ध भैरव गणमा कार्यरत नायक चन्द्रबहादुर श्रेष्ठको घरमा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर एक लाख ५० हजारबराबरको धनमाल डकैती।
* पुस २७ गते नै भक्त पुर दुवाकोटकी रेनु तिमिल्सिनाको घरमा सात/आठजनाको समूहमा आएका हतियारधारी समूहले घरका सबै सदस्यलाई नियन्त्रणमा लिएर दुई लाख ३० हजारबराबरको धनमाल डकैती।
यी दुवै घटना लोडसेडिङको समयमा भएका हुन्। पछिल्लो समयमा रातमा हुने चोरी र डकैतीका घटना शृंखलाबद्ध रूपमा बढेको छ। 'जहाँ अन्धकार हुन्छ, त्यहाँ खतरा हुन्छ' यो उक्ति नेपाल प्रहरीमा सुरक्षा तालिममा प्रयोग हुने गर्दछ।
अन्धकार आफैंमा अदृश्य हुन्छ र उत्तिकै खतरा पनि। प्राकृतिक अन्धकारलाई क्षणिक उज्यालो बनाउन आवश्यक बिजुलीबत्तीको अभाव (लोडसेडिङ) ले अहिले उपत्यकामा उत्तिकै खतरा निम्त्याएको छ। चोरी, डकैती, लुटपाट नै रातमा उपत्यकावासीले भोग्ने मुख्य आपराधिक घटना हुन्।
मूलपानीका श्रेष्ठको घरमा पेस्तोल, खुकुरी तथा फ लामको रडसमेत लिएर योजनाबद्ध रूपमा श्रेष्ठको घरमा प्रवेशगरी डकैत समूहले श्रेष्ठ, निजकी श्रीमती सीता माया र छोरा दीपक कुमारलाई खुकुरीले टाउकोमा हानी घाइते बनाएर मारिदिने धम्की दिँदै धनमाल लुटेर फरार भएका थिए।
पक्राउ पर्ने डरले श्रेष्ठसहित सबैलाई एउटै कोठामा थुनेर भागेका थिए। भाग्ने क्रममा स्थानीय बासिन्दा र डाँकाहरूबीच प्रतिकारसमेत भएको थियो। प्रतिकारका क्रममा घाइते भएका डकैत समूहका सदस्य कमल भन्ने देव लामाको उपचारको क्रममा मृत्यु भएको थियो।
श्रेष्ठको घर र भक्तपुर दुवाकोटकी रेनु तिमिल्सिनाको घरको दूरी पाँच सय मिटरको मात्रै हो। श्रेष्ठको घरमा डकैती गरी फरार भएका अन्य सदस्यले तिमिल्सिनाको घरमा पुन: डकैत गरेको अनुमान प्रहरीको छ। अपराधको कार्यविधि एउटै भएकाले प्रहरी त्यो निष्कर्षमा पुगेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक किरण न्यौपानेको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो।
दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले श्यामबहादुर थिङलाई पक्राउ गरेको थियो। थिङले आफूसहित अन्य टोलीले दुवै घरमा डकैती गरेको बयान प्रहरीलाई दिएका छन्। श्रेष्ठको घरमा डकैती गर्दा प्रतिकारमा मारिएका लामा यसअघि ललितपुर झरुवारासी आरुबोटका वीरबहादुर थिङको घरमा भएको डाँका घटनामा पक्राउ परी २०६६ जेठ ३ गतेदेखि एक महिना १५ दिन जेलमा बसेर ५५ हजार आठ सय रुपैयाँ धरौटी तिरेर छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका श्यामबहादुर थिङकै समूहले यसअघि गत पुस २४ गते भक्तपुर चाँगुनारायणका सीताराम न्यौपानोको घरमा डकैती गरी दुई लाख २० हजारबराबरको धनमाल, मंसिर २८ गते राजधानीको चुनीखेल सागटारका नरहरि रेग्मीको घरमा डाँका गरी सात लाख ३५ हजारबराबरको धनमाल, ललितपुर कृष्णमन्दिर बस्ने विमला शाक्यको घरबाट एक लाख पाँच हजारबराबरको चोरी गरी लगेको महाशाखाले जनाएको छ।
यी घटनामा जोरपाटीका मदन भन्ने रुद्र रायमाझी, मकवानपुर रातमाटेका साइँला लामा, काभ्रे माझीफेदाका जीवन भन्ने मेकमार तामाङ, रामेछापका टीका थापामगर फरार छन्।
डकैतीमात्रै होइन गत पुस ९ गते राति कपनमा राम सेन्चुरीले सञ्चालन गरेको सेन्चुरी सुनचाँदी पसल चोरी भयो। चोरले सटर फुटाएर गरगहनागरी सात लाखबराबरको धनमाल चोरी गरेर लगे। यस घटनामा कोही पक्राउ परेका छैनन्। चोरी गर्ने समूहले दिउँसो आफू भाग्न सजिलो हुने तथा सडकसँगै टाँसिएका गहनापसल हेरेर जाने र राति बत्ती गएको समयमा चोरी गर्न आउने गरेको महाशाखाका डीएसपी ओम अधिकारी बताउँछन्।
अपराध महाशाखाका अनुसार गत मंसिरदेखि माघको पहिलो सतासम्ममात्रै ६ वटा डकैतीका घटना भएका छन्। तीमध्ये तीनवटा घटनाका फरार छन्। चोरीका तीन दर्जन घटना छन्। उपत्यकाका तीनवटा जिल्लाको अपराध अनुसन्धान गर्ने निकाय महाशाखका प्रमुख एसएसपी विजयलाल कायस्थले लोडसेडिङका कारण अपराध अनुसन्धानमा समस्या भइरहेको छ। उनले लोडसेडिङको समयमा डकैती तथा चोरीका घटना भएलगत्तै त्यस्ता गिरोह फरार हुन सजिलो हुन्छ।
उनले भने,' लोडसेडिङ जनतालाई सास्ती र अपराधीलाई मस्ती हुन्छ, तर प्रहरीले आफ्नो कारबाही अप्रेसन भने जारी राखेकै हुन्छ, कतिपय घटनामा पक्राउ पर्छन् भने कतिपयमा फरार छन्।'
लोडसेडिङ भएपछि अपराधीलाई डर र त्रास देखाउन पनि सजिलो माध्यम बनेको छ। 'कसैको घरमा डकैती गर्न पुग्यो भने उसै पनि परिवारका मानिसहरू मार्ने हो कि भन्ने डर हुन्छ भने अर्कोतर्फ डकैत समूहले हतियार देखाएर ज्यान मार्ने धम्की दिएपछि बोल्न सक्दैनन्।' उनले सरकारले मूल सडकमा सडकबत्ती बाल्ने योजनालाई उपत्यकाभर लागू गरेर लोडसेडिङका समयमा पनि सडकबत्ती बाल्ने प्रावधान लागू गरेमा केही हदसम्म अपराध न्यूनीकरणमा सहयोग मिल्ने बताए।
चोरी तथा डकैतीका घटना नियन्त्रणका लागिमात्रै उपत्यकामा सादा पोसाकका प्रहरी परिचालित भएका छन्। चोरी तथा डकैती गर्ने समूहलाई कारबाही गर्ने ऐन फितलो हुँदा पनि यस्ता घटना नियन्त्रणमा प्रहरीलाई केही हदसम्म अप्ठ्यारो पर्ने गरेको बताए।
- See more at: http://annapurnapost.com/en/news/social

No comments: