Saturday, August 2, 2014

नक्कली भारु कारोबार अभियोगमा युनुस फेरि समातिए

काठमाडौं : जेलबाट छुटेको चार महिना नबित्दै युनुस अन्सारी फेरि पक्राउ परेका छन्। प्रहरीले उनलाई ललितपुर नखिपोटस्थित घरबाट शनिबार बिहान पक्राउ गरेको हो।
ठमेलस्थित पोताला होटेलबाट शुक्रबार राति ३५ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका पाकिस्तानी मसुद आलम र नेपाली दिनेश आलेले ती नोट अन्सारीलाई बुझाउन ल्याएको बयान प्रहरीलाई दिएका थिए। सोही बयानका आधारमा प्रहरीले अन्सारीसँगै उनको घरबाट अर्का नेपाली सोयल खानलाई सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले अन्सारी भारतीय नक्कली नोट कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए।
यसअघि अन्सारी २०६६ पुस १८ गते २५ लाख ४४ हजार भारतीय नोटसहित पक्राउ थिए। सोही अपराधमा करिब चार वर्ष जेल सजाय भुक्तान गरेर उनी गत असोज १८ गते छुटेका थिए। जेलबाट छुटेपछि पनि अन्सारी भारतीय नक्कली नोटकै कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले निगरानी गरिरहेको थियो।
स्रोतका अनुसार नेपालमा हुने भारतीय जाली नोट कारोबारसम्बन्धी सूचना भारतीय दूतावासले नेपाली प्रहरीलाई दिन्छ। अन्सारी पनि दूतावासकै सूचनाका आधारमा पक्राउ परेका हुन्।
भारतीय पक्षले अन्सारीमाथि पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) को एजेन्ट तथा पाकिस्तानी अन्डरवल्र्ड दाउद इब्राहिमसँग मिलेर भारतीय नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउने गरेको छ। जेलमै रहेका बेला एक भारतीय नागरिकले २०६७ फागुन २६ गते केन्द्रीय कारागारमै अन्सारीलाई गोली हानेका थिए।
प्रहरीका अनुसार भारत लखनउ जेलमा रहेका बब्लु श्रीवास्तवले सुरेश दुवेदी, रामु दुवेदी र मनमितसिंह भाटिया भनिने जसजित सिंहलाई परिचालन गरेर अन्सारीको हत्या गर्ने योजना बनाएका थिए। मनमित पक्राउ परे पनि दुवेदीद्वय भने फरार छन्।
जेलभित्रै अन्सारीको हत्या प्रयास घटनामा गठन गरिएको न्यायिक छानबिन आयोग र प्रहरी मुख्यालयले गठन गरेको छानबिन समितिले पनि आक्रमणमा भारतकै हात रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो।
जेलबाट छुटेपछि अन्सारीले बन्द रहेको नेसनल टेलिभिजन चलाउन छलफल चलाइरहेका थिए। अन्सारी पूर्वमन्त्री सलिममिया अन्सारीका छोरा हुन्। नेपाल कुस्ती संघका पूर्वअध्यक्ष अन्सारीले आ नै अध्यक्षतामा राष्ट्रिय जनता दल खोलेका थिए।
    - See more at: http://annapurnapost.com/en/news/social/

    No comments: