Crime Diary
Pages
Tuesday, April 25, 2017
Saturday, August 2, 2014
ललितपुरमा बिहान गोली चलेपछि प्रहरी प्रमुख सरूवा
मिति : २०७० माघ ४, शनिबार [743 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : ललितपुरको धापाखेलमा शनिबार बिहान नेपाली कांग्रेस ललितपुर महासमिति सदस्य मीनकृष्ण महर्जनमाथि भएको गोलीप्रहारको घटनापछि प्रहरी प्रधान कार्यालयले ललितपुर प्रहरी प्रमुख एसएसपी रमेशकुमार भट्टराईको सरूवा गरेको छ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शुक्रबार राति महानगरीय प्रहरी आयुक्त कार्यालय रानी पोखरीमा सुरक्षा सेवा चुस्त दुरूस्त राख्न निर्देशन दिएको २४ घण्टा नबित्दै महर्जनमाथि भएको गोली प्रहारको घटनाको निहुँमा मुख्यालयले भट्टराईको सरूवा गरेको हो।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले भट्टराईको सरूवा भएको पुष्टि गर्दै उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे साँझसम्म निर्णय हुने जानकारी दिए।
प्रहरी नियमावलीअनुसार एसएसपीदेखि माथिको सरूवा मन्त्रीपरिषदको निर्णयबाट हुने प्रावधान छ। काज सरूवा भने प्रहरी महानिरीक्षकको अग्राधिकार भित्र पर्छ। आजको घटनापछि भट्टराईको काज सरूवा गरिएको हो। उनलाई सरूवा गरेर कहाँ पठाउने भन्ने निर्णय भने भइसकेको छैन।
- - See more at: http://annapurnapost.com/en/news/social/2718/
अपराध धन्दामा पूर्व सई केसी
मिति : २०७० माघ ६, सोमबार [767 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : सूर्यबहादुर केसी नेपाल प्रहरीका पूर्व सई हुन्। बीएल उत्तीर्ण उनको सामाखुसीमा साढे दुईतले घर छ। परिवार पनि सुखी छ। सामान्य रूपमा हेर्दा उनी कुनै आपराधिक गतिविधिमा लाग्छन् जस्तो लाग्दैन। तर उनी शुक्रबार नियन्त्रित लागूऔषध (डाइजेपाम, बुप्रिनर्फिन) ओसारपसार तथा बिक्रीवितरण आरोपमा पक्राउ परे। प्रहरीका अनुसार यो उनको पहिलो अपराधकर्म भने होइन।
केसीसँग राजधानीका गौशाला र थानकोट प्रहरी कार्यालयमा काम गरेको अनुभव छ। थानकोटमै हुँदा डलर काण्डमा परेर पेन्सन पाक्न एक वर्ष बाँकी हुँदा उनले २०५४ मा जागिर गुमाएका थिए। केसी जागिर छुटेको केही समयमै अपराधको दुनियाँमा छिरे।
प्रहरीका अनुसार बोक्न सजिलो, सजिलै बिक्री हुने र चुनौती पनि कम हुने नियन्त्रित लागूऔषध ओसारपसार तथा बिक्रीवितरणका लागि उनले उपत्यकाका तीनवटै जिल्ला र पोखरामा ठूलो सञ्जाल बनाए। राजधानीका विभिन्न स्थानबाट लागूऔषधका खुद्रा व्यापारी पक्राउ परेपछि पोलिएका केसीलाई प्रहरीले पहिलोपटक २०६४ जेठ २४ गते थानकोटबाट पक्राउ गरेको थियो। त्यतिबेला उनको साथबाट ७५ हजार नौ सय २० एम्पुल लागूऔषध बरामद भएको थियो।
लागूऔषध कारोबार अभियोगमा जिल्ला अदालत काठमाडौंले केसीलाई ६ वर्ष कैद र आठ लाख जरिबाना तोकेपछि उनी जेल पनि बसे। जेलमुक्त भएपछि पुरानै सञ्जाल प्रयोग गरेर उनी लागूऔषध कारोबारमै फर्किए। उनी शुक्रबार तीन हजार ६ सय थान नियन्त्रित लागूऔषधसहित सामाखुसीबाट पक्राउ परे। दुई सय थान एम्पुल नियन्त्रित लागूऔषध लिएर खुद्रा व्यापारी पर्खेर बसेका केसीलाई प्रहरीले पक्राउ गरेपछि उनले लुकाएर राखेका अन्य थप लागूऔषध फेलापरेको हो।
केसी अंग्रेजीमा पनि दख्खल छन्। रक्सौलबाट नियन्त्रित लागूऔषध ल्याएर उपत्यकासँगै पोखरामा समेत कारोबार गर्दै आएका केसीको सञ्जाल धेरै बलियो रहेको दाबी लागूऔषध नियन्त्रण ब्युरोको छ।
घटनाबारे जानकारी दिन आइतबार ब्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआईजी प्रतापसिंह थापाले भने, 'केसी पक्राउ परेको घटनाले उपत्यका र पोखराबीचको ठूलो सञ्जाल तोड्न केही हदसम्म सफलता मिलेको छ।'
घटनाबारे जानकारी दिन आइतबार ब्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआईजी प्रतापसिंह थापाले भने, 'केसी पक्राउ परेको घटनाले उपत्यका र पोखराबीचको ठूलो सञ्जाल तोड्न केही हदसम्म सफलता मिलेको छ।'
केसीले रक्सौलका केही गिरोहको नामसमेत पोलेका छन्। प्रहरीका अनुसार उनले रक्सौलबाट अवैध रूपमा एक जोडी नियन्त्रित लागूऔषधको एक सय २० रुपैयाँमा खरिद गरेर ल्याएपछि काठमाडौंमा थोकमा दुई सय र खुद्रामा पाँच सय रुपैयाँसम्ममा बेच्दै आएका थिए। डीआईजी थापाका अनुसार खुद्रा व्यापारीले भने प्रयोगकर्तालाई आठ सय देखि ११ सय रुपैयाँसम्ममा बेच्दै आएका छन्।
- See more at: http://annapurnapost.com/en/news/social/2799तेल हाल्ने बजेट नभएपछि प्रहरीले रात्री गस्ती घटायो
मिति : २०७० माघ ७, मंगलबार [118 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : प्रहरीसँग धेरै गाडी छन् तर गुडाउन तेल हाल्ने पैसा छैन। त्यसैले उपत्यकामा प्रहरीले रात्रिकालीन गस्ती घटाएको छ। गाडी कम भएको गुनासो गरिरहेको प्रहरीले दोस्रो संविधानसभा चुनाउका लागि भारतले सहयोग गरेका नयाँ पिकअप भ्यान पाएको छ।
'गाडी त आयो तर तेल हाल्ने पैसा नहुँदा समस्या छ', महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले भने, 'त्यसैले हामीले रातमा गर्ने गस्ती आधा घटाएका छौं।' प्रहरीलाई भारतीय सहयोगका ६१ वटा नयाँ स्कार्पियोसहितका गाडी प्राप्त भएका छन्।
आयुक्त र मातहत कार्यालयमा हाल दुई सय ७८ वटा गाडी र एक सय ८४ वटा मोटरसाइकल छन्। यीमध्ये १३ वटा गाडी बिग्रिएर थन्किएका छन् भने १२ वटा मर्मतका क्रममा छन्। काठमाडौं, ललितपुर र भक्तपुर प्रहरीलाई वार्षिक रूपमा छुट्याइएको बजेट अपुग हुँदा भएका गाडी पनि प्रयोगमा ल्याउन नसकिएको हो।
एसएसपी पालका अनुसार काठमाडौं परिसरलाई वार्षिक एक करोड ७४ हजार, ललितपुरलाई ३८ लाख ७० हजार र भक्तपुरलाई २६ लाख ३० हजार रुपैयाँ बजेट छुट्याइएको छ। 'यो बजेटले पुगेन, थप बजेट नभई गाडी मर्मत पनि नहुने देखिएको छ', काठमाडौं परिसरका प्रमुख एसएसपी सुबोध घिमिरेले भने।
नयाँ गाडी, सीआरभी र क्युआरटी भ्यान थपिए पनि तेल हाल्ने उपाय नभएपछि थप बजेटका लागि प्रधान कार्यालयमा पत्राचार गर्ने तयारी भइरहेको जानकारी पनि पालले दिए। स्थानीय व्यापारीसँग मागेर भए पनि तेल जुटाउने प्रहरीलाई पछिल्लो समयमा प्रहरी प्रधान कार्यालयले तेल नमाग्न निर्देशन दिएको छ।
अहिले प्रहरी आयुक्त कार्यालयसँग ९५ गाडी र ४५ मोटरसाइकल, अपराध महाशाखासँग ८ गाडी र १७ मोटरसाइकल छन्। त्यस्तै काठमाडौं परिसरसँग ६८ गाडी र ५२ मोटरसाइकल, ललितपुर परिसरसँग १४ गाडी र १६ मोटरसाइकल रहेका छन्।
विमानस्थल सुरक्षागार्ड कार्यालयसँग ५ गाडी र २ मोटरसाइकल, ट्राफिक महाशाखासँग २२ गाडी र २८ मोटरसाइकल, आयुक्त शिक्षालयसँग १ गाडी र १ मोटरसाइकल, गण र गुल्मसँग २३ गाडी र ९ मोटरसाइकल, घटना कार्यालयसँग ८ गाडी र १ मोटरसाइकल तथा प्रहरी विद्यालय सामाखुसीसँग ६ वटा गाडी रहेका छन्।
- See more at: http://annapurnapost.com/en/news/social/2831पाकेटमारका कोड भाषा
मिति : २०७० माघ ८, बुधबार [4840 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : दहचोकका केशव गिरी घर जान सातदोबाटोबाट रिङरोड चल्ने बस चढे। सीतापाइला नपुग्दै खल्तीको २५ हजार रुपैयाँ मात्र गएन उनले कुटाइसमेत खानुपर्यो।
बल्खुबाट चारजना युवा चढे र गिरीको मनिपर्स फुत्काएर कलंकीमा झरे। प्रतिकार गर्दा उनलाई पाकेटमारले उल्टै 'कसलाई पाकेटमार भनिस्' भन्दै कुटे। यो घटना गत पुस ३० गतेको हो।
राजधानीमा गिरीजस्ता धेरै व्यक्ति पाकेटमाराको फन्दामा पर्ने गरेका छन्। प्रहरीका अनुसार सातामा औसत चारदेखि पाँचवटा पाकेटमाराका घटना हुने गरेका छन्।
प्रहरीलाई गिरीले दिएको जानकारीअनुसार ती पाकेटमाराले बसभित्र टिप्लीमास्टर, खिच, ढेकजस्ता शब्द प्रयोग गरेका थिए। यस्तै प्रकृतिको अर्को घटनामा प्रहरीले चारजना पाकेटमारा समातेको थियो। उनीहरूलाई गिरीले सुनाएका शब्दबारे सोध्दा सजिलै जवाफ दिए। टिप्लीमास्टरको अर्थ पाकेटमारको नाइके, खिचको अर्थ पैसा निकाल, ढेकको अर्थ पाकेटमार्दा छेक्ने मानिस। सार्वजनिक बसको खचाखच भीडमा यस्ता शब्द सुनिए त्यहाँ पाकेटमार रहेको अनुमान लगाउन सकिन्छ।
पाकेटमाराका गिरोहले आफूले मात्र बुझ्ने कोड भाषा प्रयोग गर्छन्। महानगरीय प्रहरी अपराध महाशाखाले पाकेटमाराका विभिन्न घटना अनुसन्धान गर्दा पाकेटरमाराले प्रयोग गर्ने शब्द र तिनका अर्थ संकलन गरेर राखेको छ।
पाकेटमाराले आफैं पैसा खसालेर 'कसको पैसा खसेको हो? पाकेटमारा छ कि क्या हो' भनेर नाटक समेत गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यसरी चिच्याउँदा यात्रुले खल्ती छामछुम पार्छन् र पाकेटमाराले कोसँग पैसा रहेछ भन्ने थाहा पाउँछन्।
महानगरीय प्रहरी वृत्त गौशालाले गत पुस २४ गते सिन्धुपाल्चोकका मिलन अधिकारीलाई पक्राउ गर्यो। मिलनले आफू २० वर्षदेखि पाकेट मार्ने काममा लागेको बयान प्रहरीलाई दिए। वृत्तका प्रमुख डीएसपी अभिनारायण काफ्लेका अनुसार अधिकारीले एक हजार पाँच सयजनाको पाकेट मारेको बयान दिएका थिए। प्रहरीले अदालतमा मुद्दा लगाएपछि सात हजार धरौटी माग्दा बुझाउन नसकेपछि उनी जेल गए।
अरू सिट हुँदाहुँदै पनि अर्काको सिटमा आएर बढी भीडभाड गर्ने तथा झ्यालतिर थुक्ने बाहना बनाउने र झर्नुछ भनेर सिट सार्न खोजेमा पनि त्यस्ता व्यक्तिहरू पाकेटमारा हुन सक्ने डीएसपी ओम अधिकारीले बताए।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डीएसपी भीम ढकालका अनुसार उपत्यकामा करिब डेढ सयजना पाकेटमारा छन्। रिङरोड परिक्रमा गर्ने बस तथा माइक्रोबस, नेपाल यातायातका बस, कान्तिपुर यातायातका बसमा पाकेटमारा बढी सक्रिय छन्। कलंकी, कालीमाटी, बाफल, सुन्धारा, गौशाला, कोटेश्वर, एअरपोर्ट, तीनकुने, सातदोबाटो, नयाँ बसपार्क, सोह्रखुट्टेलगायतका स्थानमा बढी पाकेटमारा हुने गरेको प्रहरी विश्लेषण छ।
राजधानीमा बिहान ९ देखि साढे १० बजे र साँझ साढे पाँच बजेदेखि सात बजेसम्म पाकेटमाराको बिगबिगी हुने गरेको छ। डीएसपी ढकालले कुनै घटनामा बसका चालक र सहचालक पनि पाकेटमारासँग मिलेका हुन्छन्।
'ठूलो परिमाणको रुपैयाँ तथा महत्त्वपूर्ण समान (नागरिकता, राहदानी, एटिएमकार्ड र अन्य कागजात) पाकेटमारेमा प्रहरी कार्यालयमा उजुरी दिने र थोरै पैसा पाकेटमारेमा उजुरी नआउने हुँदा यति नै घटना हुन्छन् भन्ने अनुमान लगाउन सकिँदैन', ढकालले भने।
- See more at: http://annapurnapost.com/en/news/social/2881कैदी लोग्नेलाई चरेश उपहार
मिति : २०७० माघ ८, बुधबार [264 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : जेल सजाय भोगिरहेका लोग्नेलाई चरेश उपहार लगिदिने पत्नी पक्राउ परेकी छन्। केन्द्रीय कारागारमा लागूऔषध मुद्दामा दुई वर्षदेखि सजाय भोगिरहेका राजेन्द्र श्रेष्ठलाई उपहारस्वरूप चरेश लैजाँदै गर्दा सविता अधिकारी (श्रेष्ठ) पक्राउ परेकी हुन्।
कारागार प्रवेशका क्रममा खानतलासी गर्दा प्लास्टिकमा पोको पारेर ज्याकेटको गोजीमा लुकाएर ल्याएको ३.२ ग्राम चरेश फेला परेको जानकारी कारागार सुरक्षा प्रमुख डीएसपी नयनसिंह कार्कीले दिए। सविताले भने आफ्नै लागि चरेश बोकेको बयान दिएकी छन्। पतिलाई जोगाउन उनले आफू पनि लागूऔषध दुर्व्यसनी भएको झूटो दाबी गरेको आशंका प्रहरीको छ।
पतिपत्नीको भेट भने हुन पाएन। सवितालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ। 'कारागारमा रहेका कैदीबन्दीलाई भेट्न आउने आफन्तको शरीर हामीले खानतलासी गर्दै आएका छौं, संवेदनशील स्थानमा थोरै परिमाणमा लागूऔषध भेटिनु ठूलो घटना हो', कार्कीले भने।
कारागार ऐन तथा नियमावलीमा जेलभित्रका कैदीबन्दीले कारागारभित्रको अनुशासन पालन नगरे सजाय बढ्ने व्यवस्था छ। काठमाडौं जिल्ला अदालतले सवितालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
यसैबीच प्रहरी प्रधान कार्यालयले भने सविताबाट १० ग्राम चरेश बरामद भएको जनाएको छ। उता केन्द्रीय कारागारले ३.२ ग्राम चरेश फेला परेको मुचुल्का तयार पारिसकेको छ। डीएसपी कार्कीले सुरुमा चरेश फेला परेपछि अनुमानका भरमा १० ग्राम भनेर मु यालयमा टिपाएकाले गलत सूचना सम्प्रेषण भएको बताए। तर प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी गणेश केसीले १० ग्राम नै बरामद भएको बताए। केन्द्रीय कारागार प्रहरीले मुद्दा चलाउन नमिल्ने भएकाले सवितालाई जनसेवाको जिम्मा लगाइएको हो।
- See more at: http://annapurnapost.com/en/news/socialफेसबुकले बढायो अपराध
मिति : २०७० माघ १०, शुक्रबार [490 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै साइबर अपराधका घटना पनि वृद्धि भएका छन्। तीन वर्षयता भएका साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकसम्बन्धी छन्।
पछिल्लो ६ महिनामा उपत्यका प्रहरीमा दर्ता भएका नौवटा साइबर अपराधका घटना सबै फेसबुकसँग सम्बन्धित छन्। फेसबुकमार्फत धम्क्याउने, अश्लील तस्बिर राख्नेलगायत अपराध बढेको प्रहरीले जनाएको छ। 'फेसबुकबाट गरिने अपराधका घटना बढिरहेका छन्', नेपाल प्रहरी आईटी सेलका निरीक्षक पशुपति रोयले भने। त्यस्ता अपराध गर्ने व्यक्तिका फेसबुक अकाउन्ट बन्द गरिदिन आग्रह गर्दै प्रहरीमा प्रत्येक महिना एक सय ५० वटासम्म उजुरी पर्ने गरेका छन्।
आर्थिक वर्ष २०६८/०६९ मा फेसबुकसँग सम्बन्धित ३२ वटा, इमेलबाट धम्कीका पाँच, तथ्यांक चोरीको एक, एटीएमको एक, इमेल ह्याकका दुई, वेब एसएमएस धम्कीका दुई र फिसिङका दुई गरी ४५ वटा अपराधका घटना दर्ता भएका थिए। आर्थिक वर्ष २०६९/०७० मा फेसबुकसँग सम्बन्धित ५८, इमेल धम्कीका आठ, गैरकानुनी डाडा एक्सेसको एक, इमेल ह्याकका तीन, वेब एसएमएस धम्कीका ६ र फिसिङको एउटा उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेको थियो।
प्रहरीले अनुसन्धानका क्रममा फेसबुकमार्फत भएका विभिन्न घटना पनि पत्ता लगाएको छ। गत पुसमा झापाका रवि शर्मा पूर्वपत्नीको फेसबुक वालमा अश्लील तस्बिर पोस्ट गरेपछि पक्राउ परेका थिए। अर्कै केटासँग बिहे गर्ने तयारीमा रहेकी उनकी पूर्वपत्नीलाई नक्कली फेसबुक अकाउन्टमार्फत बेइज्जती गरेको उजुरीका आधारमा रवि पक्राउ परेका थिए।
फोटोसपबाट बनाएको अश्लील तस्बिर सालीको फेसबुक वालमा पोस्ट गरेपछि पक्राउ परेका रामेछापका रोशन गजुरेल अदालतले तोकेको एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए। यौनसम्पर्कका लागि प्रस्ताव राख्दा सालीले अस्वीकार गरेपछि आफूले त्यस्तो काम गरेको बयान उनले प्रहरीलाई दिएका छन्।
प्रहरी निरीक्षक रोयका अनुसार धर्मस्थलीकी सुजिता श्रेष्ठ (नाम परिवर्तन) र खुसिबुका दीपेश महर्जन सँगै पढेका मिल्ने साथी थिए। दीपेशले सुजितालाई यौनसम्पर्कका लागि प्रस्ताव राखे। तर सुजिताले अस्वीकार गरेपछि दीपेशले सुजितासहित अन्य चारजना युवतीका नाम र फोन नम्बर अश्लील वेबसाइटमा राखिदिए। उक्त वेबसाइट हेरेर कसैले यौनसम्पर्कको प्रस्तावसहित सुजितालाई मोबाइलमा फोन गर्यो। उनले प्रहरीमा उजुरी दिएपछि दीपेश पक्राउ परे।
विद्युतीय कारोबार सजाय ऐनमा यस्ता अपराधमा संलग्न दोषीलाई पाँच वर्ष कारागार, एक लाख जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। अधिकांश घटनाका आरोपी धरौटीमा छुटेका छन्।
- See more at: http://annapurnapost.com/en/news/social/अन्धकारमा बढ्यो अपराध
सुवास गोतामे |
* गत पुस २७ गते राति काठमाडौंको मूलपानी गाविस मैचाखेतस्थित नेपाली सेनाको युद्ध भैरव गणमा कार्यरत नायक चन्द्रबहादुर श्रेष्ठको घरमा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर एक लाख ५० हजारबराबरको धनमाल डकैती।
* पुस २७ गते नै भक्त पुर दुवाकोटकी रेनु तिमिल्सिनाको घरमा सात/आठजनाको समूहमा आएका हतियारधारी समूहले घरका सबै सदस्यलाई नियन्त्रणमा लिएर दुई लाख ३० हजारबराबरको धनमाल डकैती।
यी दुवै घटना लोडसेडिङको समयमा भएका हुन्। पछिल्लो समयमा रातमा हुने चोरी र डकैतीका घटना शृंखलाबद्ध रूपमा बढेको छ। 'जहाँ अन्धकार हुन्छ, त्यहाँ खतरा हुन्छ' यो उक्ति नेपाल प्रहरीमा सुरक्षा तालिममा प्रयोग हुने गर्दछ।
अन्धकार आफैंमा अदृश्य हुन्छ र उत्तिकै खतरा पनि। प्राकृतिक अन्धकारलाई क्षणिक उज्यालो बनाउन आवश्यक बिजुलीबत्तीको अभाव (लोडसेडिङ) ले अहिले उपत्यकामा उत्तिकै खतरा निम्त्याएको छ। चोरी, डकैती, लुटपाट नै रातमा उपत्यकावासीले भोग्ने मुख्य आपराधिक घटना हुन्।
मूलपानीका श्रेष्ठको घरमा पेस्तोल, खुकुरी तथा फ लामको रडसमेत लिएर योजनाबद्ध रूपमा श्रेष्ठको घरमा प्रवेशगरी डकैत समूहले श्रेष्ठ, निजकी श्रीमती सीता माया र छोरा दीपक कुमारलाई खुकुरीले टाउकोमा हानी घाइते बनाएर मारिदिने धम्की दिँदै धनमाल लुटेर फरार भएका थिए।
पक्राउ पर्ने डरले श्रेष्ठसहित सबैलाई एउटै कोठामा थुनेर भागेका थिए। भाग्ने क्रममा स्थानीय बासिन्दा र डाँकाहरूबीच प्रतिकारसमेत भएको थियो। प्रतिकारका क्रममा घाइते भएका डकैत समूहका सदस्य कमल भन्ने देव लामाको उपचारको क्रममा मृत्यु भएको थियो।
श्रेष्ठको घर र भक्तपुर दुवाकोटकी रेनु तिमिल्सिनाको घरको दूरी पाँच सय मिटरको मात्रै हो। श्रेष्ठको घरमा डकैती गरी फरार भएका अन्य सदस्यले तिमिल्सिनाको घरमा पुन: डकैत गरेको अनुमान प्रहरीको छ। अपराधको कार्यविधि एउटै भएकाले प्रहरी त्यो निष्कर्षमा पुगेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक किरण न्यौपानेको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो।
दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले श्यामबहादुर थिङलाई पक्राउ गरेको थियो। थिङले आफूसहित अन्य टोलीले दुवै घरमा डकैती गरेको बयान प्रहरीलाई दिएका छन्। श्रेष्ठको घरमा डकैती गर्दा प्रतिकारमा मारिएका लामा यसअघि ललितपुर झरुवारासी आरुबोटका वीरबहादुर थिङको घरमा भएको डाँका घटनामा पक्राउ परी २०६६ जेठ ३ गतेदेखि एक महिना १५ दिन जेलमा बसेर ५५ हजार आठ सय रुपैयाँ धरौटी तिरेर छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका श्यामबहादुर थिङकै समूहले यसअघि गत पुस २४ गते भक्तपुर चाँगुनारायणका सीताराम न्यौपानोको घरमा डकैती गरी दुई लाख २० हजारबराबरको धनमाल, मंसिर २८ गते राजधानीको चुनीखेल सागटारका नरहरि रेग्मीको घरमा डाँका गरी सात लाख ३५ हजारबराबरको धनमाल, ललितपुर कृष्णमन्दिर बस्ने विमला शाक्यको घरबाट एक लाख पाँच हजारबराबरको चोरी गरी लगेको महाशाखाले जनाएको छ।
यी घटनामा जोरपाटीका मदन भन्ने रुद्र रायमाझी, मकवानपुर रातमाटेका साइँला लामा, काभ्रे माझीफेदाका जीवन भन्ने मेकमार तामाङ, रामेछापका टीका थापामगर फरार छन्।
डकैतीमात्रै होइन गत पुस ९ गते राति कपनमा राम सेन्चुरीले सञ्चालन गरेको सेन्चुरी सुनचाँदी पसल चोरी भयो। चोरले सटर फुटाएर गरगहनागरी सात लाखबराबरको धनमाल चोरी गरेर लगे। यस घटनामा कोही पक्राउ परेका छैनन्। चोरी गर्ने समूहले दिउँसो आफू भाग्न सजिलो हुने तथा सडकसँगै टाँसिएका गहनापसल हेरेर जाने र राति बत्ती गएको समयमा चोरी गर्न आउने गरेको महाशाखाका डीएसपी ओम अधिकारी बताउँछन्।
अपराध महाशाखाका अनुसार गत मंसिरदेखि माघको पहिलो सतासम्ममात्रै ६ वटा डकैतीका घटना भएका छन्। तीमध्ये तीनवटा घटनाका फरार छन्। चोरीका तीन दर्जन घटना छन्। उपत्यकाका तीनवटा जिल्लाको अपराध अनुसन्धान गर्ने निकाय महाशाखका प्रमुख एसएसपी विजयलाल कायस्थले लोडसेडिङका कारण अपराध अनुसन्धानमा समस्या भइरहेको छ। उनले लोडसेडिङको समयमा डकैती तथा चोरीका घटना भएलगत्तै त्यस्ता गिरोह फरार हुन सजिलो हुन्छ।
उनले भने,' लोडसेडिङ जनतालाई सास्ती र अपराधीलाई मस्ती हुन्छ, तर प्रहरीले आफ्नो कारबाही अप्रेसन भने जारी राखेकै हुन्छ, कतिपय घटनामा पक्राउ पर्छन् भने कतिपयमा फरार छन्।'
लोडसेडिङ भएपछि अपराधीलाई डर र त्रास देखाउन पनि सजिलो माध्यम बनेको छ। 'कसैको घरमा डकैती गर्न पुग्यो भने उसै पनि परिवारका मानिसहरू मार्ने हो कि भन्ने डर हुन्छ भने अर्कोतर्फ डकैत समूहले हतियार देखाएर ज्यान मार्ने धम्की दिएपछि बोल्न सक्दैनन्।' उनले सरकारले मूल सडकमा सडकबत्ती बाल्ने योजनालाई उपत्यकाभर लागू गरेर लोडसेडिङका समयमा पनि सडकबत्ती बाल्ने प्रावधान लागू गरेमा केही हदसम्म अपराध न्यूनीकरणमा सहयोग मिल्ने बताए।
चोरी तथा डकैतीका घटना नियन्त्रणका लागिमात्रै उपत्यकामा सादा पोसाकका प्रहरी परिचालित भएका छन्। चोरी तथा डकैती गर्ने समूहलाई कारबाही गर्ने ऐन फितलो हुँदा पनि यस्ता घटना नियन्त्रणमा प्रहरीलाई केही हदसम्म अप्ठ्यारो पर्ने गरेको बताए।
- See more at: http://annapurnapost.com/en/news/socialनक्कली भारु कारोबार अभियोगमा युनुस फेरि समातिए
मिति : २०७० माघ ११, शनिबार [415 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : जेलबाट छुटेको चार महिना नबित्दै युनुस अन्सारी फेरि पक्राउ परेका छन्। प्रहरीले उनलाई ललितपुर नखिपोटस्थित घरबाट शनिबार बिहान पक्राउ गरेको हो।
ठमेलस्थित पोताला होटेलबाट शुक्रबार राति ३५ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका पाकिस्तानी मसुद आलम र नेपाली दिनेश आलेले ती नोट अन्सारीलाई बुझाउन ल्याएको बयान प्रहरीलाई दिएका थिए। सोही बयानका आधारमा प्रहरीले अन्सारीसँगै उनको घरबाट अर्का नेपाली सोयल खानलाई सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले अन्सारी भारतीय नक्कली नोट कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए।
यसअघि अन्सारी २०६६ पुस १८ गते २५ लाख ४४ हजार भारतीय नोटसहित पक्राउ थिए। सोही अपराधमा करिब चार वर्ष जेल सजाय भुक्तान गरेर उनी गत असोज १८ गते छुटेका थिए। जेलबाट छुटेपछि पनि अन्सारी भारतीय नक्कली नोटकै कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले निगरानी गरिरहेको थियो।
स्रोतका अनुसार नेपालमा हुने भारतीय जाली नोट कारोबारसम्बन्धी सूचना भारतीय दूतावासले नेपाली प्रहरीलाई दिन्छ। अन्सारी पनि दूतावासकै सूचनाका आधारमा पक्राउ परेका हुन्।
भारतीय पक्षले अन्सारीमाथि पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) को एजेन्ट तथा पाकिस्तानी अन्डरवल्र्ड दाउद इब्राहिमसँग मिलेर भारतीय नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउने गरेको छ। जेलमै रहेका बेला एक भारतीय नागरिकले २०६७ फागुन २६ गते केन्द्रीय कारागारमै अन्सारीलाई गोली हानेका थिए।
प्रहरीका अनुसार भारत लखनउ जेलमा रहेका बब्लु श्रीवास्तवले सुरेश दुवेदी, रामु दुवेदी र मनमितसिंह भाटिया भनिने जसजित सिंहलाई परिचालन गरेर अन्सारीको हत्या गर्ने योजना बनाएका थिए। मनमित पक्राउ परे पनि दुवेदीद्वय भने फरार छन्।
जेलभित्रै अन्सारीको हत्या प्रयास घटनामा गठन गरिएको न्यायिक छानबिन आयोग र प्रहरी मुख्यालयले गठन गरेको छानबिन समितिले पनि आक्रमणमा भारतकै हात रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो।
जेलबाट छुटेपछि अन्सारीले बन्द रहेको नेसनल टेलिभिजन चलाउन छलफल चलाइरहेका थिए। अन्सारी पूर्वमन्त्री सलिममिया अन्सारीका छोरा हुन्। नेपाल कुस्ती संघका पूर्वअध्यक्ष अन्सारीले आ नै अध्यक्षतामा राष्ट्रिय जनता दल खोलेका थिए।
युनुसद्वारा प्रहरीलाई चार करोड प्रस्ताव
मिति : २०७
० माघ १३, सोमबार [1401 पटक पढिएको]
सुवास गोतामे |
काठमाडौं : नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न युनुस अन्सारीले आफूलाई पक्राउ नगर्न प्रहरीलाई चार करोड रुपैयाँको प्रस्ताव गरेको खुलासा भएको छ। स्रोतका अनुसार युनुसलाई पक्राउ गर्न नखिपोटस्थित घरमा पुगेको प्रहरी टोलीसमक्ष उनले यस्तो प्रस्ताव गरेका हुन्।
प्रहरी मुख्यालयको विशेष ब्यूरो र प्रहरी परिसर ललितपुरका प्रहरीलाई कोठाभित्रै राखेर युनुसुले सम्झाउने प्रयास गरेका थिए। परिसरबाट डीएसपी सोमेन्द्रसिंह राठोर र विशेष ब्यूरोबाट पाँच जना प्रहरी निरीक्षक उनलाई पक्राउ गर्न खटिएका थिए। शनिबार बरामद भएको ३५ लाख नक्कली भारु अन्सारीलाई दिन ल्याएको बयान पक्राउ परेका अभियुक्तले प्रहरीसमक्ष दिएका थिए।
बरामद नक्कली भारु पाकिस्तान एयरलाइन्सका कर्मचारीलाई प्रयोग गरेर नेपाल ल्याइएको खुलेको छ। प्रहरीले ३५ लाख नक्कली भारूसहित शुक्रबार पक्राउ परेका पाकिस्तान कराँचीका मसुद आलम पाकिस्तान एयरलाईन्समा सरसरफाई कर्मचारी हुन्। आलमले प्रहरीलाई दिएको जानकारीका आधारमा युनुस प्रहरीले युनुस अन्सारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
पाकिस्तान एयरलाईन्सको पिके २६८ नम्बरको उडानबाट बिहीबार काठमाडौं आएका आलमले शरीरमा कपडाले बेरेर (बडीक्यारी) नक्कली भारू ल्याएका थिए। प्रहरीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसएसपी सुबोध घिमिरेले जाली नोट कारोबारीले एयरलाईन्सकै परिचय पत्र बोक्ने व्यक्ति प्रयोग गर्दा शंका नहुने अनुमानका आधारमा आलम प्रयोग गरेको बताए।
विशेष सूचनाका आधारमा प्रहरीले विएस १७५४६४१ नम्बरको राहदानी बाहक आलमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पिछा गरेको थियो। ठमेलको पोताला गेष्ट हाउसको कोठा नम्बर १०४ मा आलम वसेको थाहापाएपछि प्रहरीले नोट लिन आउने व्यक्तिलाईसमेत पक्राउ गर्ने योजना बनाएको थियो। योजना अनुसार १० गते शुक्रबार सीतापाईलाका दिनेश आले नक्कली भारू बुझ्न आएपछि दुवै पक्राउ परेका थिए।
आलम र आलेले नोट युनुस अन्सारीलाई बुझाउने तयारी भएको बताएपछि शनिबार उनी पक्राउ परेका थिए। अन्सारीसँगै आफ्ना सालो सोहेल खानसमेत पक्राउ परेका छन्। रौतहट धमौलिबैरिया घर भएका खान अन्सारीलाई नक्कली नोटको कारोबारमा सघाउदै आएको जानकारी प्रहरीले दिएको छ।
घिमिरेका अनुसार आलम र आले पक्राउ परेपछि नक्कली भारू भारत लैजान आएका एक व्यक्ति भने फरार छन्। आले यस अघि २०६० असारमा लागू औषध कारोबारमा पक्राउ परेपछि नौ वर्ष जेलसजाय भुक्तान गरेर २०६९ असार २८ गते छुटेका अभियुक्त हुन्।
उनले अन्सारीकै निर्देशनमा यस अघि गत पुस २५ गते बागबजार स्थित होटल हिमशिखरबाट पाकिस्तानी नागरिक बाबेर अलीबाट २८ लाख नक्कली भारू बुझेको जानकारी पनि प्रहरीले पाएको छ। आलेले ती नोट सीतापाईला स्थित आफ्नो भट्टिपसल पुर्याएर त्यहाँ आएका अन्सारीका साला खानलाई दिएको प्रहरीसँग बताएका छन्। अन्सारी र आलेको भेट केन्द्रीय कारागारमै भएको थियो।
आलेले आफूले नक्कली भारू बुझेर जिम्मा लगाएबापत १५ हजार रूपैंया पाउने बताएका थिए। अन्सारीका सालो सोहेल खानले भने ०५७६७१३३ नम्बरको नेपाली र ६२६८८१९ नम्बरको भारतीय राहदानी प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अन्सारीले भने जेलबाट छुटेपछि पाकिस्तानी नागरिक सेरा भन्ने अस्लम चौधरीसँग फोनमा कुरागरी नक्कली भारू पठाउने सल्लाह अनुसार अस्लम ३५ लाख नक्कली भारु लिएर आएका हुन्। ' पटकपटकको घटनाक्रममले नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाएर नक्कली भारू कारोबारी गर्ने गिरेहका अन्सारी ठूला कारोबारी भएको निश्कर्ष प्रहरीको छ।' एसएसपी घिमिरेले भने। 'अन्सारी नक्कली भारू कारोबारीका नेपाल स्थित भरपर्दा एजेण्ट हुन्।' अनुसन्धानमा संलग्न प्रहरीले अधिकारीले भने। उनी जेलमा वस्दा समेत नक्कली भारूको कारोबार गर्थे।
पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गर्दा अन्सारीको अनुहारमा कुनै पश्चाताप देखिदैनथ्यो। उनले आफूलाई 'दक्षिण' ले फसाएको बताए। अन्सारी पक्राउ परेपछि उनकी पत्नि सल्मा अन्सारीले पनि आइतबार पत्रकार सम्मेलन गरी पक्राउ पूर्जी विना प्रहरीले घर खानतलासी गरेर पक्राउ गरेको बताएकी थिइन्। उनले श्रीमानलाई पटक पटक धम्की आइरहेको बताउदै जीवन रक्षाका लागि पहल गर्न मानवअधिकारकर्मी र सरकारसँग माग गरेकी छन्।
- See more at: http://annapurnapost.com/en/news/social/3085/%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B5.htm#sthash.QtJmiWmg.dpuf
Subscribe to:
Posts (Atom)